काठमाडौं । गृह मन्त्रालयले सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य रुपमा सुरक्षित राख्न निर्देशन दिएको छ । अर्थमन्त्रालयको सीसीटीभी १३ दिनमै हराएको घटनाबाट पाठ सिक्दै गृहसचिवस्तरको निर्णयबाट मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो । मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटीभी फुटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ ।
मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने जनाएको छ । सिंहदरबारभित्रको सीसीटीभीको निरीक्षण रअनुगमन नेपाल प्रहरीको सिंहदरबार भित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ । सीसीटीभी सम्बन्धी कार्यविधिमा सार्वजनिक कार्यालयका सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ । तर, पछिल्लो समय अर्थ मन्त्रालयले १३ दिन मात्र सीसीटीभी फुटेज सुरक्षित रहने बताएपछि गृहमन्त्रालयले निर्देशन नै दिएको हो ।