काठमाडाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । शुक्रवार प्रेस सेन्टर नेपालको केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पार्नुभएको हो । सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैन भन्ने समाचारहरु आएको भन्दै उहाँले त्यसको खण्डन गरे । उनले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरुले छलफल नगरेको उल्लेख गरे । अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाएपनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको बताए । उनले चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्र बनाउने विषयमा छलफल चलेको बताए ।
उनले भने – ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । बन्दै छैन । हामीले समाजवादी केन्द्र बनाईहालौँ भनेर छलफल पनि गरेका छैनौँ । केही–केही साथीहरुले समाजवादी केन्द्रको कुरा उठाउनु भएको हो तर हाम्रा बैठकहरुमा समाजवादी केन्द्र तत्काल बन्ने भन्ने कुरा भएको होइन । छैन । चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति भएर एउटै घोषणा–पत्र बनाउन सकिन्छ कि भन्ने छलफल चलेको छ । टुंगिसकेको छैन । जे भएपनि यही गठबन्धन जान्छ र हामीले यसैबाट देशमा राजनीतिक स्थायित्व र विकास ल्याउनुछ ।’
अध्यक्ष दाहालले वर्तमान सत्तारुढ गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम रहने बताए । उनले गठबन्धनको आवश्यकता र औचित्य रहँदासम्म निर्वाचनपछि पनि गठबन्धन कायम रहने बताए । गठबन्धनबाटै शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने र नयाँ परिस्थिति बनाउने उनको भनाई छ । उनले भने– ‘एउटा ऐतिहासिक आवश्यकताले, संविधानको रक्षा, राष्ट्रको रक्षा र गणतन्त्र, संघीयताको रक्षाको निम्ति यो बनेको हुनाले यो गठबन्धन अहिले कायम रहन्छ । प्रदेश, संघको निर्वाचनसम्म मात्रै होइन यसको आवश्यकता र औचित्य रहँदासम्म यो कायम रहिराख्छ, कुनै दुविधा नपाल्नु होला । अर्को बन्छ कि भन्ने खालको कहिलेकाहीँ भ्रम आउन खोज्छ, त्यो भ्रम अब मुक्त भएर यही गठबन्धनबाट जाने हो र यसैबाट शान्तिप्रक्रिया पनि टुंग्याउने हो र यसबाट नै एउटा नयाँ परिस्थिति बनाउने हो ।’
अध्यक्ष दाहालले पूर्वअर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई ल्याएर करको दर हेरफेर नगरेको प्रमाणित भएको बताए । संसदीय विशेष छानबिन समितिको रिपोर्टले शर्मालाई निर्दोष देखाएको उनको भनाई छ । उनले तत्कालिन अर्थमन्त्री शर्मा र अर्थ मन्त्रालयको कुनै गल्ती नभएको छानबिन समितिको प्रतिवेदन आएको उल्लेख गरे । उनले भने – ‘बजेट राम्रो छ भन्ने हुँदैथ्यो । सबैले त्यसलाई स्वागत गर्दै थिए । राति १२ बजे अनाधिकार मान्छेलाई ल्याएर करका दरमा हेरफेर ग¥यो अर्थमन्त्रीले र यसलाई कारबाही गर्नुपर्छ भनेर यति धेरै प्रचार गरियो । हामीले, अझ मैले नै भन्नुपर्छ अध्यक्षको हैसियतले छानबिन गर्नु भने, खाएको विष पो लाग्छ, नखाएको विष त लाग्दैन । छानबिन गर्न तयार । संसदीय छानबिन नै सही भनियो । छानबिनको १० दिन समय दिइयो । ७ दिन थपियो । आज चाहीँ छानबिन समितिले बुझायो उहाँ निर्दोष हुनुहुन्छ । केही प्रमाण छैन । अब प्रमाणित भइसक्यो । भर्खरै त्यो घोषणा भयो । अर्थमन्त्रीको, अर्थ मन्त्रालयको त्यस्तो कुनै गल्ती भएको छैन भन्ने छानबिन समितिको रिपोर्ट बुझियो ।’
अध्यक्ष दाहालले माओवादी आन्दोलन नै आजको राजनीतिको मुलधार भएको जिकिर गरे । उनले माओवादी समर्थित पत्रकारहरुको पार्टीको पक्षमा एउटा ट्वीट गर्ने जाँगर पनि नभएको टिप्पणी गरे । उनले देशमा हालसम्म भ्रष्टाचार नगर्ने माओवादी केन्द्रको नेतृत्वको दुईवटा सरकार मात्र भएको दाबी गरे ।