धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेतको मिलेमतोमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप गरिएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पार्टीको कार्यक्रममा लामिछानेले शर्मामाथिको संसदीय छानबिनमा एमालेले समेत शर्माको कमजोरी लुकाउन सहयोग गरेको टिप्पणी गरेका हुन् ।
‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ तर मैले प्रतिपक्ष देखिन खोइ कहाँ छ ? अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसँग एम अधिकारी साटफेर गर्ने प्रतिपक्ष हुन्छ’, लामिछानेले भने, ‘म चुनौतीका साथ भन्छु मलाई एक घण्टाका लागि मन्त्रालयको सीसीटीभीको हार्ड डिस्क दिनुस् । रिकभर गरेर सर्वसाधारणलाई देखाउन नसके हेर्नुहोला ।’
नेकपा एमालेको अर्थ तथा योजन विभागको सदस्य रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ दल र तिनका भ्रातृ संगठनले गभर्नरको राजीनामा मागेका थिए । लामिछानेले पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन रहेको आरोप लगाए ।