
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले त्रिभुवन विश्वविद्यालय सेवा आयोगलाई प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता नलिन माग गरेको छ। नेविसंघले सेवा आयोग कार्यालयमा शुक्रबार तालाबन्दी पनि गरेको थियो। नेविसंघले गत साउन १ मा आयोगका अध्यक्ष प्रा.डा. लालुप्रसाद पौडेललाई विभिन्न पदमा लिखित परीक्षा पास गरेका उम्मेदवारलाई अन्तर्वार्ता नलिन ज्ञापन पत्रसमेत बुझाएको थियो।
नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले सेवा आयोगको निष्पक्षतामा प्रश्न उठेकोले अन्तर्वार्ता नलिन आग्रह गरिएको बताए। ‘सयौंको संख्यामा विज्ञापन गरिने तर लिखित परीक्षामा अधिकांश फेल हुने प्रवृत्ति देखियो। पाठ्यक्रममै समस्या छ,’ उनले आज त्रिवि सेवा आयोग परिसरमा आयोजित कोणसभामा भने, ‘एमाले निकटलाई सेवा आयोगले जागिर दिन खोजेको छ, यसमा हाम्रो विरोध छ।’
अवकाशमा जान लागेका त्रिवि सेवा आयोगका अध्यक्षले अब अन्तर्वार्ता लिन नमिल्ने पनि उनले बताए। ‘अवकाश हुनुभन्दा एक महिनाअघि बिदामा बस्नुपर्ने हो,’ उनले भने, ‘तर अध्यक्षले अन्तर्वार्ता लिन खोजिरहेका छन्। हामीले साउन १ मै अन्तर्वार्ता नलिन ध्यानाकर्षण गरेका हौं ’
त्रिवि सेवा आयोगले आजदेखि चार दिनसम्म लिखित परीक्षा पास गरेकाहरूको अन्तर्वार्ता सुरू गर्ने भनेको थियो। सेवा आयोगले अन्तर्वार्ता गरे प्रतिवाद गर्ने चेतावनी नेविसंघको छ। यसैबीच आजै नेकपा एमालेनिकट अनेरास्ववियुले पनि सेवा आयोग कार्यालयमा प्रदर्शन गरेको थियो। अनेरास्ववियुले अन्तर्वार्ता सुरू गर्न सेवा आयोगलाई आग्रह गरेको छ। आन्तरिकतर्फका सहप्राध्यापकहरूको अन्तर्वार्ता लिने तयारी आयोगको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend