बुटवल । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले स्रोत नखुलेको १२ लाख ५० हजार नेपाली रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालयको टोलीले आइतबार दिउँसो साढे २ बजेतिर रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ वाइपास रोडबाट उक्त रकमसहित भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्ज जुगौली बस्ने ४६ वर्षीय आशिष साहुलाई पक्राउ गरेको हो।
लु ६ प ७१२९ नं. को मोटरसाइकलमा सवार साहुलाई शंका मानी चेक गर्दा उनको साथबाट स्रोत नखुलेको १ हजार दरका १ हजार १ सय थान र ५ सय दरका ३ सय थान गरी कुल १२ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक बेद बहादुर पौडेलले बरामद गरिएको रकम र मोटरसाइकलसहित साहुलाई समेत आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बेलहिया पठाइएको जानकारी दिए।