logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रतिनिधि सभा बैठकको शुन्य समयः कसले के भने ?

    प्रतिनिधि सभा बैठकको शुन्य समयः कसले के भने ?

    3.2K
    Shares
    प्रतिनिधि सभा बैठकको शुन्य समयः कसले के भने ?

    काठमाडौं । सांसद मोहन बानियाँले कर्णाली करिडोर निर्माणमा सेना थप गर्न सरकारसँग माग गरे । उनले कर्णाली करिडोर निर्माण कार्य सुस्त भएको बताए । उनले भने,‘कर्णाली करिडोर १० वर्ष भयो राष्ट्रिय राजमार्गसँग जोड्ने भनेको थियो । हुम्ला जिल्लामा अहिलेसम्म पनि करिडोरले छुन सकेको छैन । करिडोर निर्माण कछुवा गतिमा गएको छ । नेपाली सेनाको करिडोर निर्माण कार्यदललाई तिव्रगतिमा बाटो बनाउनको लागि थप कार्यदल तत्काल थप्न सरकारसँग माग गर्दछु । आवश्यक बजेट छुट्याउनु प¥यो ।’

    सांसद मोहनप्रसाद पाण्डेले पाल्पा जाने सडकमा कालीगण्डकीको पानीले जलमग्न भएकाले वैकल्पिक मार्ग तत्काल बनाएर सवारी सञ्चालनमा सहजिकरण गर्न सरकारसँग माग गरे ।

    उनले भने,‘पाल्पाको पर्यटकीय क्षेत्र रानीमहलसँगै पाल्पा र स्याङ्जा जोड्ने मोटरेवल कालीगण्डकी पुल रहेको छ । त्यहाँ पाल्पा चलमग्न भएको छ । पाल्पामा सवारी जाने बाटो छैन । कालिगण्डकीको पानीले सम्पूर्ण बगर जलमग्न भएकाले यातायात प्रभावित भएको छ । त्यहाँको वालिङ खोलासम्मको सडक निर्माण तत्काल व्यवस्था गरी यातायात सञ्चालन गर्न सरकारले सहजिकरण गर्न आग्रह गर्दछु ।’

    त्यस्तै,सांसद यशोदा गुरुङ सुवेदीले सरकारले विप्लव समूहलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन माग गरिन् । उनले सरकारले विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति खारेज भएको हो भन्दै प्रश्न गर्नुभयो । सांसद सुवेदीले सरकारले विप्लवसँग भएको सहमति कार्यान्वयन गर्न पर्ने बेलामा कारबाही गर्ने कार्य रोक्नुपर्ने बताइन् ।

    उनले भनिन्,‘२०७७ साल फागुन २१ गते शसस्त्र विद्रोहमा रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे शान्तिवार्ता भएको थियो । उनीहरुले उठाएका समस्या वार्ता र संवादबाट समाधान गर्ने,राजनीतिक गतिविधिहरु शान्तिपूर्ण गर्ने र सरकारबाट पार्टी माथि लागेको प्रतिवन्ध हटाउने सहमति भएको थियो । तर सहमति भएको डेढ वर्ष पुगिसक्दा सहमति बमोजिम काम हुनु भन्दा पनि उल्टो पार्टीका नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गर्नु विडम्बनापूर्ण छ । सरकारले विपल्वसँगको सहमति खारेज गरेको हो । फेरि सरकार नेकपा बिद्रोहकै बाटोमा जाओस भन्ने चाहन्छ । यस्ता गतिविधिहरु तत्काल रोकी सहमति कार्यान्वयन गर्न पहल गरोस् ।’

    त्यस्तै,जनता समाजवादी पार्टी (जसपा) की सांसद रेनुका गुरुङले सोमवार राति आफ्नो घरको गेटभित्र बम पड्किएको बताइन् । उनले आफ्नो घरको गेटभित्र बम पड्किएको दाबी गरिन् । उनले सुरक्षाको कारण देखाउँदै आजीवन निजी सुरक्षाकर्मीको व्यवस्था गर्न गृहमन्त्री र सरकारसँग माग गरिन् ।

    उनले भनिन्,‘मेरो देशलाई शिरमा बोकेर हिँड्ने म नेपाल आमाकी छोरी हुँ । मैले जिन्दगीभर देश र समाजको लागि सेवा गरेवापत म संग प्रशांसापत्र र प्रमाणपत्रको थुप्रो छ । हिजो राति ८ बजेर २५ मिनेट जाँदा मैले देशलाई माया गरेको मन नपराउने देशद्रोहीहरुले मेरो घरको गेटभित्र बम पड्काए । घरका सबै आतंकित भए । झ्याल खोलेर हेरेँ, दुई जना लोग्ने मानिस मोटरसाइकलमा गएको देखेँ । तर, अँध्यारो भएकोले चिन्न सकिन ।

    महाराजगञ्जको थानाको नम्बर खोजेर फोन गरेँ, माननीय गृहमन्त्रीलाई फोन गरेँ, फोन उठेन । प्रहरी आएपछि म पनि आँगनमा ओर्लिएँ । कम्पाउण्डभित्र रकेट बमको खोल भेटियो, जुन प्रहरीले लिएर गएको छ । त्यसपछि माननीय उपसभामुख पुष्पा भुसाललाई फोन गरेँ, सान्त्वना दिनुभयो । अतः म संघीय सांसद र कार्यपालिकाको सदस्य भइसकेकाले म र मेरो घर परिवारको सुरक्षार्थ पूर्व राज्यमन्त्रीले पाउनुपर्ने अनिवार्य पीएसओको आजीवन व्यवस्थाका लागि गृहमन्त्री र नेपाल सरकारसँग माग गर्दछु ।’

    उनले बम पड्कापछि गृहमन्त्रीलाई फोन गरे पनि फोन नउठेको गुनासो गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend