सिन्धुपाल्चोक । लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ । ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेत लगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै थन्किएका छन् ।
बाढीका कारण मेलम्ची नगरपालिका–११ सिमखेतमा सडकमा राखिएका दुई एस्काभेटर बाढीमा डुबेका छन् । यस्तै बाढीले मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटमा समेत क्षति पुर्याएको छ । शुक्रबार राति पहिरो जाँदा पाँचपोखरी थाङपाल गाउँपालिका–८ तिपेनीमा पनि सडक अवरुद्ध भएको छ ।