काठमाडौं । नवगठित नेपाल समाजवादी पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी, नेपाल (जसपा) जातीय÷क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको बताएका छन् । नेता भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय÷क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले मुलुकको बैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ पार्टी पुनर्गठन गर्न बाध्य हुनु परेको बताएका हुन् ।
ललितपुरको बालकुमारीमा शनिबार (आज) बाट सुरु भएको पार्टी केन्द्रिय समितिको प्रथम बैठकमा बोल्दै उनले पार्टीको बैधानिकतालाई पूरा गर्दै आगामी कार्यभार तय गर्ने बैठकको मूल एजेन्डा रहेको पनि स्पष्ट पारे । नेता भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने पनि बताउनु भयो । जनताका मुद्धाहरुलाई चुनावको क्रममा महत्वपूर्ण ढंगले उठाउने उल्लेख गर्दै उहाँले ती विषयहरुमा गम्भिर छलफल गरी पार्टीको कन्द्रिय समिति बैठकले आवश्यक निर्णय लिने बताए ।
नेता भट्टराईले आफ्नो पार्टीले समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्दै त्यसलाई पूरा गरी मुलुकको बैकल्पिक राजनीतिक शक्ति बन्ने विश्वास समेत व्यक्त गरे ।