काठमाडौं । खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशको खेलकुदमा गरेको लगानी मापन हुन्छ । हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन । जसको परिणाम खेलाडी विदेश पलायन हुन थालेका छन् । राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको हालीमुहालीले खेलाडीको भविष्य अन्योल हुँदा उनीहरु पलायनको बाटो रोजिरहेको कतिपय खेलविज्ञहरु बताउँछन् । तर राज्यले खेलाडी पलायन रोक्न कुनै नीति ल्याउनसकेको छैन । यसले वर्तमान पुस्तालाई असर त गरेको छँदैछ, सँगै खेलकुद क्षेत्रको पनि भविष्य धराप बन्दै गएको छ ।
केही दिनअघि मात्रै राष्ट्रिय फुटबल टिमका सदस्य सन्तोष तामाङ नेपालमा खेलकुदमा भविष्य सुनिश्चित नहुने ठानेर अस्ट्रेलिया पलायन भए । यो एउटा आलो घटना हो । तर यो बाहेक पनि धेरै राष्ट्रि खेलाडीहरु नेपालको खेल क्षेत्रमा आफ्नो भविष्य नदेखेर विदेश पलायन भइरहेको घटना छन् । नेपाली फुटबलका विमल राना, हेमन्त थापा मगर, नेपाली राष्ट्रिय क्रिकेटका वसन्त रेग्मी, पृथु बास्कोटा, नरेश बुुढाऐर, राष्ट्रिय भलिबलकी रमिला तण्डुकार लगायत विभिन्न एकल विधाका खेलाडीहरु विदेश पलायन भइसकेका छन् । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा नेपाली खेलकुदमा राजनीति बढी हावी भएको सर्वत्र दृृष्टान्त छन् । अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सहभागिताका हुन लाग्दा खेलाडी राजनीतिको चपेटामा परेको घटना पनि उत्तिकै बाहिरिएका छन् ।
खेलकुदलाई राज्यले हेर्ने दृष्टिकोण दूरगामी र प्रभावकारी बन्न नसक्दा वर्षौंसम्म खेलकुदमा लागेका खेलाडीले विकल्प रोज्न थालेका हुन् । उनीहरुको वैकल्पिक रोजाई विदेश बन्ने गरेको छ । विदेश पलायनको बाटो रोजिरहँदा खेलाडीहरुले करियर नै टुङ्गाउनेतिर समेत लागेका कतिपय उदाहरण छन् । यसले वर्तमान पुस्तालाई असर गरेकै छ, साथै भविष्यका लागि पनि नकारात्मक छाप पर्ने निश्चित छ । नेपाली खेलकुदलाई नियालीरहेका खेलविज्ञ सुशिल नरसिंह राणाले आशा नभएपछि खेलाडीले विकल्प खोज्नु बाध्यत्मक परिस्थित रहेको बताए । राणाले खेलकुदमा राजनीति हावी हुनुले नकारात्मक असर परेको औंल्याए । नेपाली हरेक खेलाडीसँग आफ्नो नाम र प्रतिष्ठाको कुरा रहेकोले पनि खेलाडीहरु पैसामा नदौडिने बताए । तर पछिल्लो समय खेलमा राजनीति हावी हुँदा समग्र खेलकुद क्षेत्रमा नै नकारात्मक असर परेको बताए । विदेश पलायन भइरहेका खेलाडीलाई रोक्नेका लागि वर्षभर व्यस्त रहने खेलतालिका र योजना सहितका कार्यक्रम ल्याएमा खेलाडीले विकल्पको रुपमा विदेश नरोज्ने खेलविज्ञ राणाले बताए ।
उनले भने, ‘आशा नभएपछि पलायन हुनु ठूलो विषय होइन । सबै भन्दा महत्वपूर्ण विषय नेपाली खेलाडीलाइै पैसा मात्र हुने । उनीहरुका लागि बाँध्ने संयन्त्र राज्य स्तरबाट छैन । खेलाडीलाई सबै महिना व्यस्त बनाउने संयन्त्र राज्यस्तरबाट हुनसकेको छैन । नेपाली खेलाडी पैसाको मात्र लागि भन्दा पनि नाम, इज्जत र प्रतिष्ठाको लागि पनि खेल्छन् । यस्ता खेलाडीहरु धेरै छन् । यस्तो वातावरण उपलब्ध नहुने अवस्था अहिले छ । जुन सेवा सुविधा अत्यावश्यक र न्यूनतम आवश्यकता हुन । यसको पछाडि राजनीति हावी हो । जतिसुकै राजनीति छैन भनेपनि खेलकुदमा निकै राजनीति हावी छ । तल्लो स्तरदेखि माथिल्लो तहसम्म राजनीति हावी छ । खेलकुदमा जीवन अपर्ण गरेको प्रोफेसनल मान्छेहरु खेल भन्दा टाढा छन् । उनीहरुले टुलुटुलु हेर्नुको विकल्प छैन । खेलाडी पलायनको खबरहरु दिन प्रतिनि सुनिरहनुपर्ने अवस्था छ । प्रोफेसनल मानिसहरु कुनै ठाउँमा छैनन् । नेतृत्वमा आउने मान्छे पनि प्रोफेसनल भएन, उसलाई साथ दिने मान्छे पनि राजनीति पछिबाट जोडिएको छ । विगतलाई हेर्दा कुनैपनि संघको कार्यक्रमको क्यालेन्डर निश्चित हुन्थ्यो । तोकिएको समयमा खेल हुन्थे । खेलाडीले मिहिनेत गर्थे, खेलाडी बाँधिन्थे । अहिले सबतिर अन्योल नै अन्योल छ ।’
राज्य स्तरबाट खेलाडीहरुको सामाजिक सुरक्षाका लागि प्रभावकारी योजना बुन्न नसकेको यथार्थ हो । विभागले केही हदसम्म खेलाडीलाई रोजगारीको निश्चितता गरेर टिकाउने प्रयास गरिरहेका छन् । अहिले तीन विभागले धानेको नेपाली खेलकुद अड्एिको छ भन्दा फरक नपर्ला । त्यस बाहिरका खेलाडीको अवस्था दयनीय बन्दै गएको छ । नेपाली खेलाडीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता भनेको ओलम्पिक, एशियन गेम्स, दक्षिण एशियाली खेलकुद हुन् । यी प्रतियोगिता सहभागिताका लागि उपयुक्त किसिमको प्रतिष्पर्धात्मक प्रतियोगिताको अभाव छन् । तय भएका राष्ट्रिय प्रतियोगिता पटकपटक सर्दै खेलाडीको तयारी व्यर्थ हुने गरेका छन् । तर अहिले विगत र अहिलेको अवस्थामा फरक भएको भन्दै खेलविज्ञ राणाले खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई सेवा सुविधा दिनुपर्ने बताउनु भयो । विगतको अवस्था भन्दा अहिले खेलाडीलाई निजी स्तरबाट आयोजना हुने प्रतियोगिताबाट आर्थिक आर्जन गर्ने अवस्था फराकिलो भएको भएपनि दीर्घकालिन नभएको उहाँको बुझाई छ । राज्य स्तरबाट कुनैपनि खेलाडीको करियर पश्चात भविष्य सुनिश्चिताको व्यवस्था भए खेलाडी विदेश पलायन हुनबाट रोकिने राणाले बताए ।
उनले भने, ‘खेलाडीलाई क्यालेन्डर अनुसार ब्यस्त बनाई राखिरहँदा उसको प्रदर्शन राम्रो हुन्छ । राम्रो प्रदर्शनको आधारमा उसलाई हौसला स्वरुप पुरस्कार प्रदान गरिनुपर्छ । प्रशिक्षणका क्याम्प नियमित हुनुप¥यो । यस्तो अवस्था रह्यो भने जागिरकै लागि खेलाडी भौँतारिनु पर्दैन । अहिलेको अवस्थामा खेलाडीले विभिन्न माध्ययमबाट आर्थिक आर्जन गर्नसक्छ । निजी क्षेत्रबाट आयोजना हुन थालेका प्रतियोगिता सहभागी भएर वार्षिक ८÷१० लाख कमाउन सक्ने अवस्था अहिले खेलाडीलाई बनेको छ । विगतमा यस्तो थिए । भलै निजी क्षेत्रबाट गरिने यस्त प्रतियोगिता दीर्घकालिन नहोलान् तर खेलाडीलाई आर्थिक आर्जनको क्षेत्र बढेको छ । मुख्यतः राम्रो खेलाडी राज्यले पाउनका लागि ग्रासरुट लेभल राम्रो हुनुप¥यो । दीर्घकालिन योजनाहरु उच्च स्तरबाट आवश्यक छ । माथिल्लो तहमा बसेर मात्र पुग्दैन । ग्रास रुट लेभल बनाउनु पर्छ । संघीय ढाँचा अनुसार अहिले सबै प्रदेशमा खेलकुद परिषद् छ । उहाँहरुले ग्रासरुटलाई हेर्ने हो भने केन्द्र स्तरमा हेर्ने राष्ट्रिय खेलकुद परिषद् छ । तर त्यसका लागि निति आवश्यक छ । त्यसका लागि माथिल्लो तहले योजना बनाउन आवश्यक छ । यसो गर्दा विदेश पलायन हुने खेलाडी रोकिन्छ ।’
नेपाली खेलकुदमा विश्व स्तरका भौतिक पूर्वाधारको अभाव छ । सँगै खेलाडीका लागि पर्याप्त सुविधा पनि छैन् । भविष्यको प्रत्याभुति नहुँदा धेरै र राम्रा खेलाडीहरु विदेश पलायन भइरहेका हुन । र यो क्रम बढ्ने क्रममा रहेको हो । करातेबाट नेपाली खेलकुदलाई धेरै पटक पदक दिलाउनुभएका दीपक श्रेष्ठले विगतमा खेलाडीलाई उपलब्ध गराईने सेवा सुविधा र अहिलेका खेलाडीलाई उपलब्ध गराईने सेवा सुविधा तुलना गर्दा धेरै फरक भएकाले खेलाडी टिकाउन मुस्किल भएको बताउँछन् । श्रेष्ठले विगतमा राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्बन्धित संघले जागिर दिने व्यवस्था भएपनि अहिले त्यो अवस्था नहुँदा कतिपय खेलाडीले विदेश जाने बाटोको रुपमा खेल छोड्ने गरेको बताए । नयाँ खेलाडीलाई टिकाउने आधार राज्य स्तरबाट बाउनुपर्ने आवश्यकता रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँघका अध्यक्ष समेत रहनुभएका दीपक श्रेष्ठले बताए । राज्य स्तरबाट खेलाडीलाई टिकाउनका लागि उच्च स्तरबाट नै योजनाहरु बनाएको अवस्थामा खेलाडी पलायन रोक्नसकिने पूर्व खेलाडी श्रेष्ठ बताए ।
उनले भने, ‘नयाँ खेलाडीलाई टिकाउने आधार राज्यबाट निमार्ण गर्नुपर्छ । विगतमा राम्रो नतिजा ल्याउने खेलाडीलाई जागिरको व्यवस्था हुन्थ्यो र हामी अहिले यो अवस्थाम छौं । तर अहिले फरक छ । पहिलो खेलकुद अगाडि बढेको थियो । आठौं साफ अघि राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई आफ्नो खेलमा स्वरोजगारको अवसर थियो । आपूm भिजेको खेलमा जोडिन पाउँदा भविष्य निश्चित थियो । तर १२ औं साफपछि त्यो अवस्था रहेन । अहिलेका खेलाडीले खेलेर के पाउने त ? भोलि व्यवहारिक अवस्थामा जानुपर्ने हुन्छ । उर्वर समय व्यतित गरेपछि भविष्यको अन्योलताले खेलाडी पलायन भइरहेका छन् । नयाँ खेलाडी आपूmले चाहेको देशमा जानका लागि खेलकुदलाई माध्यम बनाइरहेको अवस्था छ । यसलाई न्यूनिकरण गर्न राज्य स्तरबाट खेलाडी रोक्ने योजनाहरु आवश्यक छ ।’
राष्ट्रिय खेलकुद परिषद्ले सीमित खेलाडीलाई खेल जीवनपछि प्रशिक्षक वा कर्मचारीका रुपमा रोजगारी दिँदै आएपनि यसले समग्र खेलाडीको सम्बोधन गर्न सकिरहेको छैन । यस बाहेक विभागीय टोलीले धेरै हदसम्म खेलाडी धानिरहेका छन् । खेल क्षेत्रबाट पलायन खेलाडीको यो सूची धेरै लामो छ । एकल विधाका खेलदेखि समूहगत खेलका खेलाडीले विकल्प दिनानुदिन खोजिरहेका छन् । यो लर्को रोक्न सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।