logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कोरोनाको चौथो लहर अझै एक महिना रहन सक्ने स्वास्थ्य मन्त्रालयको निष्कर्ष

    कोरोनाको चौथो लहर अझै एक महिना रहन सक्ने स्वास्थ्य मन्त्रालयको निष्कर्ष

    3.4K
    Shares

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको चौथो लहर नेपालमा अझै एक महिना रहने निष्कर्ष निकालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडी ले हालै गरेको एक अध्ययनले तीन हप्तासम्म संक्रमण बढ्दै जाने, त्यसपछि उच्च विन्दुमा केही समय स्थिर रहने र भदौको अन्तिम साताबाट मात्र संक्रमण घट्दै जाने देखाएको छ । चौथो लहरमा दैनिक आठ हजार जनासम्म संक्रमित हुन सक्ने इडीसीडीको अनुमान छ ।

    हिजोआज दैनिक संक्रमित संख्या एक हजारभन्दा कम छ । ‘आगामी तीन हप्तासम्म अझै उकालो लाग्दै जानेछ र दैनिक दुईदेखि आठ हजारसम्म नयाँ संक्रमित थपिन सक्ने आंकलन गरिएको छ’, स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘संक्रमण मध्यमविन्दुमा पुगेको छ । केही दिनमा उच्चविन्दुमा पुग्छौं ।’ उनका अनुसार संक्रमण तीन हप्तापछि मात्रै ओरालो लाग्दै जाने आंकलन गरिएको छ । ‘मानिसले खोप नलाएको वा जनस्वास्थ्यको मापदण्ड पालना नगरेको अवस्थामा संक्रमणदर बढ्ने हो । अबको एक महिना कठिन हुनसक्छ’, ती अधिकारीले भने, ‘हामीले अहिलेको संक्रमणदरको चक्रलाई आंकलन गरेको हौं । तर, यो तथ्यांक तलमाथि पनि हुनसक्छ ।’

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी पनि अबको दुई हप्तामा कोरोना संक्रमण उत्कर्षमा पुग्नसक्ने आंकलन गरिएको बताउँछन् । अधिकांश मानिसले खोप लगाएका कारण अस्पताल भर्नादर अन्य लहरभन्दा कम हुने स्वास्थ्य मन्त्रालयको आंकलन छ । यद्यपि संक्रमितको संख्या बढ्दै जाँदा अस्पताल भर्ना दर पनि बढ्न सक्ने सहप्रवक्ता अधिकारी बताउँछन् ।

    कोरोना विरुद्ध खोप लगाएको ६ महिनापछि शरीरमा क्रमशः एन्टीबडी कम हुँदै जसले गर्दा शरीरमा कोरोना संक्रमणको जोखिम पुनः बढ्दै गएको संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् । जोखिमलाई कम गर्न ‘बुस्टर डोज’ को अनिवार्य रुपमा दिर्नुपर्ने उनको भनाइ छ । मन्त्रालयको पछिल्लो विवरण अनुसार ७३ लाख ५१ हजार ६९५ जनाले मात्रै बुस्टर डोज लगाएका छन् ।

    ‘खोपको पूर्ण मात्रा लगाइसकेको ६ महिनापछि शरीरमा एन्टीबडी कम हुँदै जान्छ । एन्टीबडीलाई बढाउनका लागि अर्को खोपलाई बुस्टर डोजको रुपमा लगाउनुपर्छ,’ डा. बास्तोलाले भने, ‘अहिले बुस्टर डोज लगाउनेसंख्या कम छ । त्यसलै तत्काल कभरेज बढाउनुपर्छ ।’

    अस्पतालमा संक्रमित बढ्दै
    चौथो लहर सुरु भएसँगै कोरोनाका जटिल खालका बिरामी बढ्न थालेका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार जटिल खालका बिरामी बढ्नुमा तीन वटा कारण छन् । पहिलो, भाइरस एकदमै संक्रामक छ भने यसबाट दीर्घरोगी बढी प्रभावित भएका छन् । दोस्रो, संक्रमितहरु ढिला गरी अस्पताल पुगेका छन् र तेस्रो, कतिपय संक्रमितले खोप लगाएका छैनन् । पाटन अस्पतालका कोरोना फोकल पर्सन तथा मेडिकल डाइरेक्टर प्रा.डा. युवराज शर्मा ओमिक्रोन भेरियन्ट निकै संक्रामक भएपनि कम घातक भएको बताउँछन् । अहिले देखिएको ओमिक्रोनको सबभेरियन्टले गर्भवती र बालबालिकामा बढी जोखिम पारेको उनको भनाइ छ । हाल नेपालमा सक्रिय रहेको ओमिक्रोनको सब भेरियन्टबाट भने गर्भवती, बालबालिकासँगै वृद्धवृद्धा, दीर्घरोगी, खोप नलगाएका व्यक्ति बढी प्रभावित देखिएको डा.शर्माको भनाइ छ ।

    मन्त्रालयको आइतबारसम्मको विवरण अनुसार १५२ जना संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ४५ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचारत छन् । वीर अस्पतालका कोभिड–१९ संयोजक डा.उमेश बोगटी भाइरस निकै संक्रामक रहेको र बिरामी ढिला गरी अस्पताल आउँदा जटिलता धेरै देखिएको छ । ‘अहिले धेरैजना संक्रमित होम आइसोलेसनमै छन् । उनीहरु ठीक होला भन्दै घरमै बस्छन् । तर, जति ढिलो भयो बिरामीलाई बचाउन त्यति नै गाह्रो हुन्छ’ उनले भने, ‘अहिले समुदायमा संक्रमण फैलिसकेको छ । केही हप्तापछि अस्पतालमा भर्ना हुने संख्या पनि बढ्छ ।’

    होम आइसोलेसनमा बसेका संक्रमितहरु निरन्तर रुपमा चिकित्सकको परामर्शमा रहनुपर्ने उनको सुझाव छ । ‘शरीरमा अक्सिजनको मात्रा घटेमा, श्वास प्रश्वासमा समस्या भए, छाती दुखे, ओठ निलो भएमा जटिलता तिर गएको बुझ्नुपर्छ,’ डा.बोगटीले भने, ‘यस्ता लक्षण देखिएर तत्काल अस्पताल पुर्याउन सकेमा क्षतिलाई रोक्न सकिन्छ र धेरैजनाको ज्यान जोगाउन सकिन्छ ।’

    संक्रमितको नयाँ लक्षण पसिना बढी आउने
    धेरैजसो संक्रमितमा घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, कमजोरीपन जस्ता पुरानै लक्षण देखिएको छ । पछिल्लो समय संक्रमितलाई पसिना धेरै आउने लक्षण पनि देखिएको छ । पहिले कोरोना संक्रमण भइसकेका मानिस अथवा खोप लगाइसकेका व्यक्तिमा कम असर देखिएको छ । खोप नलगाएका अथवा पूरा मात्रा नलगाएकाहरूलाई यो भेरियन्टको बढी संक्रमण देखिएको र उनीहरू अस्पताल भर्ना हुने अवस्थामा रहेको डा. शर्मा बताउँछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend