काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद पुष्पाकुमारी कर्ण कायस्तले रेडियो नेपालको केन्द्रिय प्रशारणबाट मैथिली र भोजपुरी भाषाका कार्यक्रमहरु प्रशारण गर्न माग गरेकी छन् । आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कायस्तले रेडियो नेपालको केन्द्रिय प्रशारणले मैथिली र भोजपुरी लगायतका भाषाका समाचार, सूचना र मनोरञ्जनका कार्यक्रमहरु रोकेको बताइन् ।
उनले बर्दिवासको प्रशारणबाट हुक गरेर केन्द्रिय प्रशारणले समाचार दिँदा समस्या देखिने गरेको उल्लेख गरिन् । सांसद कायस्तले प्रदेशको प्रशारणलाई यथावत राखि केन्द्रिय प्रशारणले मैथिली र भोजपुरी भाषालाई प्राथमिकता दिइनुपर्ने बताइन् ।
उनले भनिन् – ‘पछिल्लो समयमा मैथिलीसँगै भोजपुरी लगायतका भाषामा पनि समाचार, सूचना र मनोरञ्जनका विभिन्न कार्यक्रमहरु रेडियो नेपालको केन्द्रिय प्रशारणमार्फत प्रशारण हुँदै आएको थियो । तर २०७५ जेठ १८ गतेदेखि केन्द्रबाट बन्द गरियो यो कार्यक्रम । त्यसपछि मधेश प्रदेशको बर्दिवासमार्फत प्रशारण भइरहेको छ । हाल बर्दिवासबाट प्रशारण गर्ने समाचारलाई केन्द्रबाट हुक गरेर जोडिँदा प्रशारणमा कहिलेकाहीँ समस्या देखिने गरेको छ । प्रदेशको कार्यक्रमलाई यथावत राखि भाषाभाषीको जनसंख्या र भाषा विज्ञानका विभिन्न वैज्ञानिक सिद्धान्तहरुको आधारमा मैथिली भोजपुरी लगायतका भाषालाई केन्द्रिय प्रशारणमा प्राथमिकता दिइनुपर्छ भन्ने कुराको माग गर्दछु ।’
उनले सांसदहरु सहितको उच्चस्तरिय आयोग गठन गरी समस्याग्रस्त विश्वविद्यालयहरुको समस्या र आवश्यकता पहिचान गरी तत्काल समस्याको समाधान गर्नुपर्ने बताइन् ।