काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताएका छन् । सोमवार पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टान को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री श्रेष्ठले नेपालालाई वर्षभर नै पर्यटकहरु आउने पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने बताए । वर्षभर नै नेपाल पर्यटकहरुका लागि खुला छ भन्ने कुराको प्रचार गरी पर्यटकलाई आकर्षित गर्नुपर्ने उनको भनाई छ । उनले विदेशमा रहेका हरेक नेपालीहरुले कम्तिमा एक जना विदेशीलाई नेपाल घुम्न जाऔँ भन्ने वतावरण सिर्जना गर्ने अभियान थालेको बताए । उनले सरकार पर्यटन क्षेत्रलाई थप विकसित र आकर्षित गरेर प्रवद्र्धन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढीरहेको बताए ।
उनले सरकार ट्रेकिङ क्षेत्रलाई व्यवस्थित, आकर्षित र प्रवद्र्धन गर्ने कुरामा प्रतिवद्ध रहेको बताए । मन्त्री श्रेष्ठले विकासको कारणले ट्रेकिङ रुटहरुमा पनि असर भइरहेको भन्दै यसलाई ध्यानमा राखेर सरकारले आगामी कदम चाल्ने बताए । स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीचमा व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यहरुमा असर नपर्ने गरेर विकासका काम अघि बढाउने गरी विकासका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाए ।