logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कर्णाली प्रदेश : पाँच वर्षमा ४८ कानुन निर्माण

    कर्णाली प्रदेश : पाँच वर्षमा ४८ कानुन निर्माण

    3.4K
    Shares
    कर्णाली प्रदेश : पाँच वर्षमा ४८ कानुन निर्माण

    सुर्खेत । कर्णाली प्रदेशसभाले हालसम्म ४८ वटा कानुन निर्माण गरेको छ । प्रदेशसभाको पाँच वर्ष कार्यकालको अन्तिममा ४८ वटा विधेयक प्रमाणीकरण भएको प्रदेशसभाले जनाएको हाे ।

    हालसम्म प्रदेशसभामा ७८ विधेयक दर्ता भएका छन् भने ६ वटा अध्यादेश सभाबाट स्वीकृत भएका छन् । त्यसैगरी, आठ विधेयकहरु विषयगत समितिमा छलफलका क्रममा छन् । प्रदेशसभाको सुरुआतमा कानुन निर्माणलाई प्राथमिकता दिइएको भएपनि पछिल्लो समय राजनीतिक खिचातानीको मारमा परेको छ । सुरुका तीन वर्षमा ३८ कानुन बनाएको प्रदेशसभाले त्यसयताको डेढ वर्षमा १० वटा कानुन बनाएको हो । सत्ता फेरबदलको खेलमा केन्द्रित हुँदा गत वर्ष संसद्मा एउटा पनि विधेयक पारित हुन सकेन । सत्ता प्रतिपक्षको बेमेलका कारण संसद् अवरोध हुँदा कतिपय अवस्थामा अत्यावश्यक कानुन निर्माणको साटो सरकारले अध्यादेशको सहारासमेत लिएको थियो ।

    प्रदेशसभाको मुख्य काम सरकार निर्माण गर्ने, प्रादेशिक कानुन बनाउने, प्रदेश सरकारको काम कारबाहीको निगरानी गर्ने तथा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने हो । प्रदेशसभाको हालसम्मका कामलाई हेर्दा उत्साहपूर्ण नै रहेको कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले बताए । उनले कर्णालीको प्रदेशसभामा केही समय अलमलको स्थिति देखिएपनि कामहरु निरन्तर अगाडि बढेको औँल्याए ।

    प्रदेशसभाले अन्य प्रदेशको तुलनामा केही राम्रा अभ्यासको सुरुवातसमेत गरेको सभामुख शाहीले बताए । “प्रदेशसभाले खुल्ला संसद्को अवधारणा ल्यायो । जसअनुसार हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि पनि संसद् खुल्ला गरिन्छ”, उनले भने, “सर्वसाधारण नागरिक पनि संसद्मा भएका गतिविधिका विषयमा जानकार हुने अवसर पाएका छन् ।” -रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend