काठमाडौं । नेकपा एमालेका सांसद डा.भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्नेकुरा स्वीकार्य नहुने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बालुवाटारमा बसेर ५ दलीय गठबन्धनले गरेको कुरा संविधान भन्दा माथि नहुने भन्दै संविधान अनुसार चल्न सरकारसँग आग्रह गरे ।
उनले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएकाहरुको छानबिन गर्न र नपाउने नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने बताए । उनले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन् भन्ने संविधानको मर्म गलत नहुने भन्दै गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनशायबाट प्रेरित तर्क भएको दाबी गरे ।
उनले संविधान बनाउँदा गरेको सहमतिबाट पछि हटेर सत्ता गठबन्धनले संविधान बिरोधी काम गरिरहेको आरोप लगाए ।