बुटवल । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनअघि नै बुटवलबाट प्रदेश सभाको कार्यालय दाङ सार्ने तयारी गरिएको भन्दै विरोध सुरु भएको छ । मुुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा प्रदेश सभाको भवन निर्माण पूरा नभए पनि हतार हतार दाङमा सामान सार्न कर्मचारीलाई निर्देशन दिइएको भन्दै सत्ता पक्षकै सांसदले आपत्ति जनाएका छन् ।
अहिले प्रदेश सभा भवनको बाहिरी काम सकिए पनि फिनिसिङ, एसी जडान, कुर्सी व्यवस्थापन, साउण्ड सिस्टम जडान, फर्निचरको कामहरु पूरा भएको छैन । संघ र प्रदेशसभाको निर्वाचन मंसिर ४ का लागि तोकिएपछि निर्वाचनअघि एक पटक भए पनि प्रदेश सभा चलाउने गरि काम गर्न निर्देशन दिइएको कर्मचारीहरु बताउँछन् । तत्काल विद्युत जडान नहुने भएपछि बुटवलस्थित प्रदेश सभा भवनको जेनेरेटर लगेर काम चलाउन प्रदेश सभाका सचिवले निर्देशन दिएका छन् । प्रदेश सभाको संरचना पूरा नहुँदै चोरी डकैतीको शैलीमा सामान लैजान थालिएको आरोप लगाउँदै सत्तारुढ दलकै सांसदहरुले समेत आपत्ति जनाएका छन् ।
विपक्षी नेकपा एमालेले निर्वाचनको मिति घोषणा भएपछि भवन तयार नहुँदै प्रदेश सभा सार्ने सरकारको तयारी गलत नियतका साथ आएको बताएको छ । प्रदेश सभा सार्ने विषयमा सरकारको निर्णय, सबै दल र सांसदसँग परामर्श हुनुपर्नेमा छापामार शैलीमा सार्न खोजिएको एमाले सांसदहरु बताउँछन् ।
दाङको राप्ती उपत्यका भालुुवाङ क्षेत्र मा स्थायी संरचनाहरु बनाएर मात्रै मन्त्रालय र प्रदेशसभा अस्थायी राजधानी बुटवलबाट सार्ने सरकारले निर्णय गरेको थियो । तर, मुख्यमन्त्री केसी र सभामुख घर्तीले निर्वाचनलाई लक्षित गरि अस्थायी संरचनामै विद्युत समेत जडान नभएको भवनमा कार्यालय सार्ने र संसद चलाउन कर्मचारीलाई निर्देशन दिएको आरोप छ ।
राप्ती प्राविधिक शिक्षालय परिसरमा ५ करोड २१ लाख ९३ हजार रुपैयाँ लागतमा फलामबाट अस्थायी भवन निर्माणाधीन छ । भवन निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणल २०७८ वैशाख २४ ठेक्का सम्झौता गरेको थियो । पहिलो सम्झौता अनुसार चार महिनामा भवन बनाइसक्नुपर्नेमा काममा ढिलाइ भएपछि प्रदेश सकारकाले निर्माण कम्पनी नै परिवर्तन गरेर भवन निर्माणलाई छिटो सक्ने गरि अर्को सम्झौता गरेको थियो । यही असोज मसान्तभित्र काम सक्ने गरि प्राधिकरणले दोस्रो सम्झौता गरेको छ । भवन निर्माणको काम अन्तिम चरणमा छ ।
अहिलेसम्म विद्युत जडान भइनसकेको र भवनभित्र साउण्ड सिस्टमदेखि फर्निचनर, कुर्ची टेबल राख्न बाँकी रहेपनि सामान सार्न पटक पटक निर्देशन आइरहेको एक कर्मचारीले बताए ।