logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मिटरब्याजी विरुद्ध १८ सय बढी उजुरी, मधेश प्रदेशमा मात्रै हजार बढी

    मिटरब्याजी विरुद्ध १८ सय बढी उजुरी, मधेश प्रदेशमा मात्रै हजार बढी

    4.3K
    Shares

    काठमाडौं । चर्को व्याजमा ऋण दिएर विचल्ली बनाएको भन्दै देशभरबाट १८ सय ३२ उजुरी परेको छ । गृह मन्त्रालयले गठन गरेको कार्यदलमा हालसम्म परेका उजुरीमध्य सबैभन्दा धेरै मधेश प्रदेशका छन् । मधेशमा एक हजार ६९ जनाले उजुरी दिएका छन् । यो कुल उजुरीको ५८ प्रतिशत भएको कार्यदलका संयोजक सहसचिव भीष्मकुमार भुसालले जानकारी दिए ।

    मधेशपछि बाग्मती प्रदेशको ३५८, लुम्बिनीको २११, प्रदेश १ को ९२, सुदूरपश्चिमको ४५, गण्डकीको ३५ र कर्णाली प्रदेशको २२ वटा उजुरी परेका छन् । साहुले चर्को व्याजमा ऋण दिने र नतिरको भन्दै घर र जग्गा नै हडपेपछि पीडितले काठमाडौंको माइतीघर मण्डलामा आएर पटकपटक प्रदर्शन गरेपछि सरकारले गृह मन्त्रालयका सह–सचिव भुसालको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

    कार्यदलले देशभरबाट मिटरब्याज पीडितलाई उजुरी दिन आह्वान गरेको थियो । कार्यदलले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी संकलन गरेको थियो । कार्यदल संयोजक भुसालका अनुसार अझै केही जिल्लाबाट विवरण आउन बाँकी छ । कार्यदलले आइतबारसम्म मिटरब्याजीबारे उजुरी दिन समयसीमा तोकेको थियो । कार्यदलले सोमबार अपरान्ह ४ बजेका लागि बैठक बोलाएको छ । सबैभन्दा प्रभावित गाउँमा गएर स्थलगत अध्ययन र छानविन पनि गर्ने कार्यदलको तयारी छ ।

    कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिनेश आचार्य, गृह मन्त्रालयका कानून उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरमा कार्यरत प्रहरी उपरीक्षक एसपी कृष्णप्रसाद कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य छन् ।

    कार्यदलको सदस्य सचिव सीआईबीका डीएसपी रोशन खड्कालाई तोकिएको छ । कार्यदललाई मिटरब्याजको समस्या बढी भएका जिल्लामा स्थलगत भ्रमण गरेर समस्यका कारण र समाधानका उपायको पहिचान गर्ने जिम्मेवारी छ । मिटरब्याज अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने र आगामी दिनमा यस्तो अपराध न्यूनिकरणका लागि उपाय सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend