काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसँग चुनावअघि एकता संभव नभएको प्रष्ट पारेका छन्। साथै, आगामी आम निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादी आ–आफ्नो चुनाव चिन्ह लिएर सहभागी हुने उनले बताए।
मंगलबार संसद बैठकबाट बाहिरिँदै सञ्चारकर्मीसँगको कुराकानीका क्रममा नेपालले सो कुरा बताएका हुन्।
‘अहिले नेकपा माओवादी केन्द्रसँग प्रारम्भिक कुराकानी चलेको छ। एकताको कुरा चुनावअघि सम्भव छैन्। आ–आफ्नो पार्टी चुनाव चिन्हको आधारमा चुनाव लडिन्छ,’ नेपालले भने,‘तर, पाँच दलीय गठबन्धनलाई आधार बनाएर अघि बढिन्छ।’
अहिले आफूहरु चुनावलाई केन्द्रविन्दुमा राखेर हिँडेको नेपालले बताए। ‘हामीले चुनावलाई केन्द्रविन्दुमा राखेका छौं। नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर जानुपर्छ भनेका छौं। त्यसका लागि हामीले विभिन्न राजनीतिक दलसँग कुरा गर्छौं,’ नेपालले भने।