काठमाडौं । आसन्न आम निर्वाचनमा सिट बाँडफाँटबारे सत्ता गठबन्धनका शीर्ष नेताको छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच बैठक चलिरहेको हो ।
बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा, कार्यदल संयोजक कृष्णप्रसाद सिटौला र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् । माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायत सहभागी छन् ।
आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटका लागि सकस देखिएको छ । काँग्रेसले ८५–९०, माओवादीले ४०–४५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले १२–१५ को वरिपरि सिट पाउने गरी छलफल चलिरहेको नेताहरु बताउँछन् । तर मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सिट बाँडफाँट पेचिलो बनेको छ । कार्यदलमा सहमति नभएपछि शीर्ष नेता बसेर भागबण्डा टुंग्याउने कसरत भइरहेको छ ।