logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • पुर्वतयारी गरेर मात्रै पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिको काम अघि बढाउन संसदीय समितिको सरकारलाई निर्देशन

    पुर्वतयारी गरेर मात्रै पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिको काम अघि बढाउन संसदीय समितिको सरकारलाई निर्देशन

    6.5K
    Shares

    काठमाडौं । संसदीय समितिले पूर्वतयारीका सम्पूर्ण कार्यहरु सम्पन्न गरेर मात्रै पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्डमा देखिएको समस्या नदोहोरिने गरी पूर्वतयारीको सम्पूर्ण कार्य सम्पन्न गरेर मात्रै सो राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

    सडकका पैदल यात्रु र त्यस वरपरका स्थानीय बासिन्दालाई समेत सहज हुने गरी सो राजमार्गको स्तरोन्नतिको कामलाई अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणीकुमारी खड्काले जानकारी दिईन् । समितिले सो राजमार्ग निर्माण गर्दा वातावरणमैंत्री, प्रविधिमैंत्री र वन्यजन्तुमैंती तथा गुणस्तरीय बनाउने कार्यको सुनिश्चितताको लागि यसको डिजाईन तथा डिपिआर निर्माण गर्दाकै अवस्थामा ध्यान पु¥याउन पनि सरकारलाई भनेको छ ।

    बैठकले सो राजमार्गको विभिन्न सडक खण्डमा रहेका राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र वन्यजन्तु आरक्षणलगायतका सरकारका संरक्षित वन क्षेत्रहरु समेत पर्ने भएकाले वन, वातावरण तथा वन्यजन्तु संरक्षणलाई पर्याप्त ध्यान दिई सडक तथा पुल निर्माण सम्बन्धि डिपिआर र वातावरणीय अध्ययनका कार्यहरु यथाशिघ्र सहजीकरण गर्न वन तथा वातावरण मन्त्रालयलाई सचेत पनि गराएको छ ।

    समितिले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म संचालनमा ल्याइएको रेल सेवालाई सहज हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ । सो रेल सेवामा विभिन्न समस्या देखिएकाले ती समस्याहरु हल हुने गरी रेलका लागि आवश्यक मर्मत तथा इन्धन सेन्टरको समेत तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति खड्काले बताईन् ।

    समितिले विद्युतीय रेल सेवा संचालनका लागि विद्युतीय संरचना निर्माणको कामलाई अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा सांसदहरुले पूर्व–पश्चिम राजमार्गमा यातायात सेवा सहज हुनेगरी त्यसको स्तरोन्नतिको कामलाई तत्काल अघि बढाउन सरकारलाई दवाव दिएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले डिपीआरको नाममा विकास, निर्माणको कामलाई कमाई खाने भाँडो बनाउने काम नगर्न सरकारलाई सचेत गराएका थिए । उनले नेपाल रेल सेवा कम्पनीलाई सरकारले राजनीतिक कार्यकर्ता भर्ती केन्द्रमा रुपमा बनाउन लागेको भन्दै आपत्ति जनाए ।

    सत्तारुढ नेपाली काँग्रेसका सांसद रामबहादुर विष्टले रेल सेवा संचालनको योजना बनाउँदा पछि टाठ पल्टिने अवस्था आउन नदिन सरकार अहिलेनै सचेत हुनुपर्ने बताए । उनले स्रोतको सुनिश्चित नभई कुनै पनि योजनाहरु नबनाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

    यस्तै नेकपा (माओवादी केन्द्र) गजेन्द्रबहादुर महतले पुलहरु जीर्ण भएकाले त्यसको मर्मत गरी पूर्व–पश्चिम राजमार्गको यातायातलाई सूचारु गराउने काममा केन्द्रित हुन सरकारसँग माग गरे । उनले स्रोत र साधनको अभाव हुन नदिने गरी सो राजमार्गको स्तरोन्नतिको कामलाई अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

    सांसद महतले सवारी साधनको चाप भएको ठाउँमा मात्रै सो सडक चार लेनको बनाउन उपयुक्त हुने धारणा समेत व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend