काठमाडौँ । सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्नका लागि ६० करोड रुपैयाँ बजेट छुट्याएको छ ।
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि ६० करोड रुपैयाँ छुट्याएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बताए ।
उनले उक्त रकम तीन पटक गरेर लिनेसमेत जानकारी दिए । पहिलो चरणमा १० करोड, दोस्रो चरणमा २३ करोड र तेस्रो चरणमा २७ करोड रुपैयाँ लिने बताए । सरकारले पहिलो चरणको लागि १० करोड रुपैयाँ रकम भने विनियोजन गरिसकेको छ ।
उक्त रकम विभिन्न प्रदेशमा प्रतियोगिताको तयारीको लागि पठाइसकेको सदस्य सचिव घिसिङले जानकारी दिए । राखेपले प्रतियोगिताको काउन्टडाउनसमेत सुरु गरिसकेको छ । अब उक्त प्रतियोगिता सञ्चालन हुन ५० दिन बाँकी छ । प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गरिएको छ भने ११ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा तीन सय ९३ स्वर्ण तीन सय ९३ रजत र छ सय कांस्य पदकको लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको खेलस्थल भने यही भदौ १५ गतेसम्म टुंगो लाग्ने राखेप सदस्य सचिव घिसिङले बताए ।-रासस