गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ग्रेटर पोखराको अवधारणका साथ पोखराको पर्यटकीय विकास अघि बढाउनुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २२औँ साधारणसभा तथा १२औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले ग्रेटर पोखराको अवधारणामार्फत पर्यटन विकास गर्नुपर्ने बताए । पोखरालाई वैधानिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलको जोड छ ।
गण्डकी प्रदेशसभा सदस्य राजिव पहारीले गण्डकी प्रदेशबाट पारित ऐनमा देखिएका कमीकमजोरीलाई संशोधन गरेर पर्यटनमैत्री ऐनका लागि आफूले पहल गर्ने बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पर्यटन क्षेत्रका लागि शान्ति सुरक्षाको प्रत्याभूति महत्वपूर्ण हुने र उनीहरूले सुरक्षित ठाउँ नै रोज्ने उल्लेख गर्दै पोखराको शान्ति सुरक्षामा प्रशासनले कुनै कसर बाँकी नराखेको बताए । -रासस