काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिएका छन् । शुक्रवार ललितपुरको च्यासलमा अवस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा जनमत एमालको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिएका हुन् ।
उनले जनता अलमलमा पर्नसक्ने भन्दै उनीहरुलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताहरुको काँधमा रहेको बताए । उनले जनमत एमालेको पक्षमा पार्ने र सो जनमतको रक्षा गर्नका लागि आवश्यक तरिका र उपायहरु अवलम्वन गर्न निर्देशन दिए । अध्यक्ष ओलीले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि प्रभावकारी भुमिका खेल्न पनि आग्रह गरे । निष्पक्ष निर्वाचन गराउनका लागि सरकारलाई दबाव दिनुपर्ने र सम्बन्धित निकायलाई बेठिक काम गर्न रोक्नुपर्ने पनि उनको भनाई थियो ।
केन्द्रिय कमिटी बैठकमा नवनिर्वाचित केन्द्रिय कमिटीका सदस्यहरुले शपथग्रहण गरेका छन् । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने, सचिवालयका निर्णय अनुमोदन गर्ने, उम्मेदवारको छनोटको मापदण्ड तय गर्ने कार्यसूची रहेका छन् । त्यस्तै स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र पार्टीका आयोगहरुका प्रतिवेदन पेस गर्ने लगायतका कार्यसूची रहेको एमालेले जनाएको छ ।