काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सांसद दिव्यमणि राजभण्डारीले गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुङ्गो लगाउन सरकारसँग माग गरेका छन् ।सोमवार प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद राजभण्डारीले गोरखा सैनिकहरुको मागलाई सरकारले बेवास्ता गरेर दुःखी बनाएकाले तत्काल उनीहरुको माग पुरा गर्न माग गरेका छन् । उनले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाएको बताए ।
त्यस्तै सांसद दीपकप्रकाश भट्टले विद्यालयमा काम गर्ने शिक्षकहरुको संस्था नेपाल कर्मचारी परिषद्ले उठाएका मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे । उनले विद्यालय व्यवस्थापन र विद्यालयका कर्मचारी दुईतर्फ भइरहेकाले उनीहरुको जाहेज माग सरकारले तत्काल पूरा गर्नुपर्ने बताए ।
सांसद दुर्गाकुमारी विश्वकर्माले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विदेशमा हुने नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था मिलाउन माग गरे । उनले अहिले ४५ लाख नेपाली विदेशमा रहेको तर अहिलेसम्म निर्वाचनमा मत दिने अधिकार नपाएको बताए ।
सांसद विश्वकर्माले सम्बन्धित दुतावासबाट भोट हाल्न पाउने व्यवस्था गर्न पनि माग गरे । उनले नेपालमा नै रहेर नेपाली विभिन्न उद्योगमा काम गर्ने जनताले भोट दिन नपाएको अवस्था रहेको भन्दै उद्योगमा काम गर्ने मजदुरहरुलाई पनि भोट हाल्ने वातावरण बनाउन आग्ह गरे ।
त्यस्तै सांसद नवराज सिलवालले ललितपुरको ठूला दुलुङ क्षेत्रमा उत्पादन हुने कफी खेतीलाई प्रवन्धन गर्न आर्थिक र प्राविधिक प्याकेज माग गरे । उनले उक्त क्षेत्रमा १२ सय घरपरिवार कफी खेतीमा संग्लन भएर युरोपमा कफी निर्यात गरिरहेको बताए । सिलवालले यो वर्ष करिव ९ टन कफी निर्यात गर्ने किसानहरुले लक्ष्य राखेको पनि जानकारी दिए ।
त्यहाँका किसान समेत मन्त्रालयहरुमा गएर कफी खेती प्रवन्धन गर्न आर्थिक सहयोग माग गर्दा समेत सरकारले कानमा तेल हालेर बसेको आरोप लगाए । त्यस्तै सांसद पार्वता जिसी चौधरीले माओवादी र काँग्रेसको अपवित्र गठबन्धनले देश र पार्टी दुवैको हित नगर्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी भएको भन्दै नेपाली कांग्रेसलाई बचाउन गठबन्धन तोड्न आग्रह गरे ।
उनले प्रधानमन्त्री देउवालाई कांग्रेस आगामी निर्वाचनमा एक्लै निर्वाचनमा जाने घोषणा गर्न समेत सुझाव दिए । सांसद चौधरीले आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताए । उनले प्रधानमन्त्री देउवालाई जीवनको अन्तिम समयमा एउटा राम्रो काम गर्न भन्दै राम्रो काम नगरे भावी पुस्ताले सराप्ने समेत बताए ।
त्यस्तै सांसद अञ्जना बिसुङ्खेले आगामी निर्वाचनमा महिलाको लागि निर्वाचन आरक्षण तोकी कानून बनाएर समानुपातिक सहभागिता कायम गर्न सरकारसँग माग गरे । उनले आरक्षण ताकेर तत्काल विधेयक ल्यान सभामुखको रुलिङ माग गरे ।
त्यस्तै सांसद प्रेम सुवालले त्रिभूवन विश्वविद्यालय तीन वर्षमा ३०० सय दिन तालाबन्दी भएकाले तीन वर्ष यता प्रधानमन्त्री र शिक्षामन्त्री भएकाहरुलाई स्पष्टिकरण सोध्नुपर्ने बताए । उनले युद्धको समयमा समेत विद्यालय र विश्व विद्यालयहरु सञ्चालन भएको देशहरु धेरै रहेको बताए । उनले भारतको गगनचुमी जुम्ल्याह भवन बम राखेर भत्काए जस्तै काठमाडौंको ठमेलको सार्वजनिक कमल पोखरीमा निर्माण गरिएको व्यापारीक भवन छायाँ कम्प्लेस भत्काउन जरुरी रहेको बताए । सांसद सुवालले निर्वाचन घोषणा भएपछि संसद सुचारु हुने आचार संहिताको उल्लघन भएको गुनासो भएकाले तत्काल संसद अन्त्य गर्न माग गरे । उनले उल्लेखित विषयमा सभामुखसँग रुलिङको माग समेत गरे ।
त्यस्तै सांसद डा.विजय सुब्बाले साझा प्रकाशनलाई कक्षा ११ को पाठ्यपुस्तक छाप्न दिने निर्णय भएपनि स्वीकृत नभएको भन्दै तत्काल फाइल स्वीकृत गर्न माग गरे । उनले यो भन्दा अगाडिका ६ जना शिक्षा मन्त्रीले साझा प्रकाशन केन्द्र डुबाइएको पनि बताए । उनले शिक्षा मन्त्रीलाई साझा प्रकाशनको विषयमा गलत सूचना गएको पनि बताए ।