logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बुधवारसम्म सिट बाँडफाँटको टुंगो लाग्छः अध्यक्ष प्रचण्ड

    बुधवारसम्म सिट बाँडफाँटको टुंगो लाग्छः अध्यक्ष प्रचण्ड

    4.4K
    Shares
    बुधवारसम्म सिट बाँडफाँटको टुंगो लाग्छः अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गठबन्धन भित्रको सिट बाँडफाँट बुधवारसम्म टुंगो लगाउने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेश समितिको वैचारिक, राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष दाहालले तीन चरणमा सिटको भागबण्डा हुने दाबी गरे । उनले १५ गतेसम्म सिट बाँडफाँट सक्ने र २० गते कुन क्षेत्रमा कुन दललाई उठाउने भन्ने निस्कर्ष निकाल्ने २५ भदौसम्म आ–आफ्नो पार्टीले उठाउने उम्मेदवारको टुंगो लगाइसक्ने बताए । अध्यक्ष दाहालले स्थानीय निर्वाचनमा जस्तो टिकट वितरणमा अनौठा घटना नहुने दाबी गरे । उनले माओवादी केन्द्रले प्रत्यक्षनतर्फ प्रतिनिधि सभामा ६० सिट र प्रदेश सभा सदस्यमा १२० सिट दाबी गर्ने बताए ।

    उनले भने, ‘आज मात्र प्रधानमन्त्री र काँग्रेसका नेताहरुसँग पनि मेरो कुरा भएको छ । हामी पर्सिसम्म संख्या टुंग्याउने प्रतिवद्धता छ । टुंग्याउने नजिक नजिक पुगेका छौँ । यही गठबन्धनमा संख्या टुंग्याउँछौँ । पहिलो स्टेप । दोस्रो स्टेप हाम्रो टार्गेट भनेको २० गतेसम्म कुन क्षेत्रमा माओवादीलाई, कुन काँग्रेसलाई, कुन समाजवादी, कुन जसपा, कुन जनमोर्चालाई हामी क्षेत्र र प्रदेशको कुन क्षेत्र र कुन प्रदेश कुन पार्टीले पाउने भन्ने कुराको टुंगो लगाउनेछाँै ।

    हामीले २५ गतेसम्म हामी आफ्नो पार्टीले खडा गर्ने उम्मेदवार टुंग्याउँछौँ । अरु पार्टीमा भन्दा हाम्रो पार्टीमा स्थानीय तहको निर्वाचनमा कमै मात्र त्यस्ता घटना भए । हाम्रो पार्टीमा पनि अनौठा घटना भए । कोही बाइकबाटै टिकट सोरेर लगेर अर्कैलाई दिने घटना भए । कोही स्थानमा पार्टीले अर्को भनेको छ, अर्कै मान्छे गएर दर्ता गरेको छ । तर प्रदेश र संघमा त्यस्तो हुँदैन । त्यस्तो हुन दिइँदैन । हामीले प्रत्यक्षमा प्रतिनिधि सभामा ६० सिट भन्दा घटन सकिँदैन, त्यस्तै १२० प्रदेश सभामा हाम्रो दाबी रहन्छ ।’

    अध्यक्ष दाहालले गठबन्धन अबपनि रहने की नरहने भन्ने बारेमा अहिले वहस चलिरहेको भन्दै यही गठबन्धनमा आगामी निर्वाचन लड्ने प्रतिवद्धता जनाए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै प्रतिगमनकारी प्रवृत्ति परास्त नभएसम्म गठबन्धन रही रहने दाबी गरे । उनले यही गठबन्धनको आधारमा प्रतिगमनलाई परास्त गर्ने अभियानलाई निरन्तर अघि बढाउने भन्दै तत्काल अर्को गठबन्धन बन्ने सम्भावना नरहेको जिकिर गरे । उनले तत्कालीन नेकपा रहँदा आफूहरुबिरुछ षड्यन्त्र भएपछि १९ पृष्ठ लामो दस्ताबेजसहितको राजनैतिक बम नेकपा सचिवालयमा वर्षाएको बताए ।

    उनले भने, ‘अहिले पनि कयौँ साथीहरुलाई यो गठबन्धन रहन्छ कि अर्को वाम गठबन्धन बन्ने हो कि के हो भन्नेजस्तो प्रश्न बेलाबेलामा आएका छन् । ढुक्क हुन्स्, जबसम्म प्रतिगमनकारी प्रवृत्ति परास्त हुँदैन तबसम्म गठबन्धन रहीरहन्छ । यही गठबन्धनको आधारमा नै हामी निर्वाचनमा जान्छौँ । यसैको आधारमा हामीले प्रतिगमनलाई परास्त गर्ने अभियानलाई निरन्तर अघि बढाउँछौ । अर्को गठबन्धन बन्न सम्भव छैन । कम्युनिष्ट एकता गरेको तीन वर्ष पुग्दा नपुग्दै विभिन्न छलछाम र षड्यन्त्र भएपछि हामी क्रान्तिकारीहरु त्यस प्रतिगमनका बिरुद्ध आन्दोलनमा उत्रिएका थियाँै । हामीले हेड क्वार्टरमा बम वर्षाको नै हो । १९ पृष्ठ लामो दस्ताबेज मैले ड्राफ्ट गरेर नेकपाको सचिवालयमा प्रश्तुत गरेँ, त्यो साँच्चै राजनैतिक बम जस्तै थियो ।’

    अध्यक्ष दाहालले नागरिकता विधेयकको गलत प्रचार गरेर नेकपा एमालेले चुनावी एजेण्डा बनाइरहेको आरोप लगाए । उनले माओवादी केन्द्रले नै वैवाहिक अंगीकृतलाई ७ वर्षपछि मात्रै नागरिकता दिने प्रावधान ल्याएको उल्लेख गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा ६ महिनासम्म नागरिकता विधेयक संसदमा पेस नगरेको बताए । उनले संसद विघटन गरेर तत्कालीन प्रधानमन्त्री ओलीले नागकिरता अध्यादेश ल्याएको र अहिलेको गठबन्धन सरकारले पनि सोही विधेयक ल्याएको बताए । उनले नेकपा एमालेले अनैतिक तरिकाबाट अहिले वैवाहिक अंगीकृत भनेपछि राष्ट्रवादी भइने र निर्वाचनमा भोट प्राप्त गर्ने मनशायले नाकाबन्दीको बेला झैँ सोचिरहेको बताए । अध्यक्ष दाहालले नागरिकता विहीन ७ लाख नेपालीहरुलाई नागरिकता प्रदान गर्न र वैवाहिक अंगीकृतको बारेमा राष्ट्रिय सहमति गरेर अघि बढ्ने सहमति अनुसार नै अहिले नागरिकता विधेयक ल्याएको बताए ।

    उनले भने, ‘तपाईले थाहा पाउनुभएको छ, नागरिकता विधेयकको चर्चा व्यापक छ । आमा बुबा दुवै नेपाली नागरिक भएका छोराछोरीले नागरिकता नपाउने विडम्वनाको स्थिति नेपालमा पैदा भयो, त्यसको समाधान गर्न ऐनको आवश्यक्ता छ, त्यो ऐन बनाउनपर्छ र ६ देखि ७ लाख नेपालीहरु जो नागरिकता पाउनबाट वञ्चित छन्, वैवाहिक, अंगीकृतको कुरा त्यो विधेयकमा कतैपनि उठाएको छैन । राज्य व्यवस्था समितिको सभापति हाम्रै नेता शशी श्रेष्ठ भएको बेलामा हामीले वैवाहिक अंगीकृतको सन्दर्भमा ७ वर्षे प्रावधान राख्न लगाएका हौँ । वैवाहिक अंगीकृत सहितको यो प्रतिवेदन प्रश्तुत भएको छ, यसलाई संसदमा लैजाऔँ भन्दा केपी ओलीले फुल हाउसमा लैजान मानेनन् । ६ महिनासम्म सुनेनन् । उनले संसद विघटन गरेर अध्यादेश ल्याए, अध्यादेश अहिले गठबन्धन सरकारले ल्याएको कुरा नै ल्याएका थिए । अहिले फेरि उनीहरु वैवाहिक अंगीकृत ल्याउनुपर्छ भनेर लाजै पचाएर, घिनलाग्दो, अनैतिक तरिकाले नेपाली जनता लाटा छन् भनेर, वैवाहिक अंगीकृत भनेपछि राष्ट्रवादी भइन्छ भनेर र अरु पार्टी राष्ट्रवादी हुँदैनन् र भोटजति हामीलाई हाल्छन् भनेर हिजो नाकाबन्दीको बेलाको जस्तो सोचेका होलान् ओलीले । त्यस्तो हुँदैन ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend