काठमाडौं । अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार सिफारिस भएकी छन् । उनी मंगलबार बिहानैदेखि गृहजिल्लामा राप्रपाको चुनावी सभामा सक्रिय छिन् । राप्रपाले उनको नाम मोरङ क्षेत्र नम्बर ३ का लागि सिफारिस गरेको छ । रेखाको घर सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर ३ मा पर्छ । क्षेत्र नम्बर ६ मा पनि उनी उम्मेदवार बन्ने चर्चा छ । यद्यपि उनी उम्मेदवार बन्ने निर्वाचन क्षेत्रको टुंगो लागिसकेको भने छैन ।
नेकपा एमालेसँग तालमेल भए मात्रै रेखा थापा उम्मेदवार बन्ने उनी निकटहरु बताउँछन् । मोरङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेको संगठन बलियो छ । स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर ३ मा पर्ने चारवटा पालिकाको प्रमुख एमालेले जितेको छ । सो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र भानुभक्त ढकाल उम्मेदवार बन्ने तयारीमा छन् ।
२०७४ सालको निर्वाचनमा कांग्रेस उम्मेदवार सुनिल शर्मालाई झिनो मतान्तरले पराजित गरेका ढकाललाई त्यसबेला ‘टुरिष्ट उम्मेदवार’को ट्याग लागेको थियो । टुरिष्ट उम्मेदवारको ट्याग मेट्न उनले सुन्दरहरैचा नगरपालिकाको खोर्सानेमा एक तले घर बनाएका छन् । एमालेबाट क्षेत्र नम्बर ६ मा पूर्व मन्त्री लालबाबु पण्डित दाबेदार छन् । पण्डित दाबेदार भएपनि क्षेत्र नम्बर ६ मा एमालेको संगठन कमजोर छ ।
मोरङ क्षेत्र नम्बर–६ मा सत्तारुढ गठबन्धनबाट कांग्रेस नेता डा.शेखर कोइराला उम्मेदवार बन्ने लगभग निश्चित छ । २०७४ सालको निर्वाचनमा उनी एमाले उम्मेदवार लालबाबु पण्डितसँग पराजित भएका थिए । राप्रपा नेता थापा आफू चुनाव लड्न तयार रहेको बताउँछिन् । मोरङको क्षेत्र नम्बर ३ बाट आफ्नो नाम सिफारिस भएको बताउँदै उनले गठबन्धन भए अन्य क्षेत्रबाट पनि उम्मेदवार बन्न सक्ने बताइन् । नेकपा एमाले केन्द्रीय सदस्य विनोद ढकाल रेखा थापा उम्मेदवार बन्ने चर्चा सुनेपनि तालमेलका विषयमा जानकारी नभएको बताउँछन् ।