काठमाडौं । नेपाली काँग्रेसका सचेतक मिन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका लागि निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमा भन्दा बाहिर गएर अभिव्यक्ती दिएको बताएका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधवार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले आफ्नो प्रतिरक्षाका लागि सीमा भन्दा बाहिर गएर भनाइ राखेको बताएका हुन् ।
उनले प्रधानन्यायाधीश जबराले अभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको बताए । सचेतक विश्वकर्माले महाअभियोग प्रश्तावको प्रतिरक्षा गर्ने क्रममा भनिएका सबै कुरालाई समितिले समान्य रुपमा लिएको पनि बताए । उनले भने प्रधानन्यायाधीश जबराले राजनैतिक रुपले नियुक्त भएका न्यायाधीशका कारणले गर्दा मैले एकमतले निर्णय गर्न सकिनँ र त्यसमा स्वाविवेकीय अधिकार हुन्छ भन्ने कुरा राखको उल्लेख गर्दै प्रतिप्रश्नमा संविधानको धारा १३६ ले न्यायपालिकामा भएका सबै निर्णयहरुको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ, तपाई लिनुहुन्छ कि लिनुहुन्न भन्ने प्रश्न राखेको बताए । जवाफमा प्रधानन्यायाधीश जबराले न्यायालयका निर्णयका अधिकार आफूले लिइरहेको र बोल्ने क्रममा भनेको मात्रै भनेको अभिव्यक्ति दिनुभएको बताए ।
उनले भने, ‘अभियोगको सवालमा उहाँले यो अभियोग किन ढिलो भयो भनेर जिज्ञासा राख्नुभयो । उहाँले महाअभियोग प्रश्तावको प्रतिरक्षा गर्ने क्रममा भनिएका सबै कुरालाई हामीले सामान्य रुपमा लिएका छौँ । महाअभियोग नै लाग्नु हुँदैन भन्ने उहाँको प्रतिरक्षा होला । उहाँले राजनैतिक रुपले नियुक्त भएका न्यायाधीशका कारणले गर्दा मैले एकमतले निर्णय गर्न सकिनँ र त्यसमा स्वाविवेकीय अधिकार हुन्छ, भन्नुभयो । हामीले प्रतिप्रश्न ग¥यौं, संविधानको धारा १३६ ले न्यायपालिकामा भएका सबै निर्णयहरुको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ, तपाई लिनुहुन्छ कि लिनुहुन्न भन्यौँ । लिनुपर्छ, लिएकै छु तर बोल्ने क्रममा भनेको मात्रै हुँ भन्नुभयो । उहाँले आफ्नो प्रतिरक्षा गर्ने क्रममा व्यक्त सबै भनाइलाई हामीले छानविन गर्न बाँकी नै छ । उहाँले आफ्नो प्रतिरक्षाका लागि केही कुराहरु सीमा भन्दा बाहिर गएर बोल्नुभयो । न्यायालय भित्रका सबै निर्णय आफूले लिनुपर्ने ठाउँमा अरुको टाउकोमा सबै दोष थुपार्नु नै सीमा बाहिर गएर बोलेको हो ।’
सचेतक विश्वकर्माले महाअभियोगको बारे पूर्वनिर्धारित कार्यतालिका परिवर्तन हुनसक्ने बताए । उनले संसद, आगामी निर्वाचनलाई मिलाउँदै जाँदा कार्यतालिका फेरबदल हुनसक्ने तर तोकिएको ३ महिनाको समयसीमा भित्रै महाअभियोगको छिनोफानो हुने बताए । उनले प्राप्त कागजातहरुको अध्ययनका लागि समितलाई केही समय अझै लाग्ने बताए । उनले प्रधानन्यायाधीश जबराले आज व्यक्त गर्नुभएका रायका आधारमा सर्वसम्मत निस्कर्षमा पुग्ने दाबी गरे ।
उनले भने, ‘हाम्रो कार्यतालिका परिमार्जन गर्ने की भन्ने कुरा भइरहेको छ । हामी ३ महिनाभित्र सक्छौँ । प्राप्त कागजातहरुको अध्ययनका लागि हामीलाई समय लाग्छ नै । आज व्यक्त रायका अनुसार हामी सर्वसम्मत टुंगो र निस्कर्षमा पुग्छौँ । ६४ वटा नै प्रश्न आज सकिन्छ जस्तो लग्दैन । एकोहोरो स्पष्टीकरण मात्रै भएको भए सकिन्थ्यो, तर प्रतिप्रश्न भइरहेकोले सकिन कठिन छ ।’
सचेतक विश्वकर्माले प्रतिप्रश्न भइरहेकोले आज नै सबै प्रश्नको जवाफ र स्पष्टीकरण नसकिने बताउनु भयो ।