काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलहरुले आगामी निर्वाचनका लागि बाँकी रहेको सिट मात्रै आफूहरुलाई दिने कुरा स्वीकार्य नहुने बताएका छन् । बुधवार पार्टी केन्द्रिय कार्यालयमा युवा संघ नेपालले ‘महाकाली–मेची युवा जागरण अभियान–२०७९’को सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनमा उब्रिएको सिट मात्रै आफूहरुलाई दिने कुरा स्वीकार्य नहुने बताएका हुन् ।
उनले गठबन्धन बनाउनका लागि आफ्नो पार्टीले खेलेको भुमिकालाई नजरअन्दाज नगर्न चेतावनी दिए । उनले गठबन्धन दुवै पक्षलाई फाइदा हुनका लागि गरिएको उल्लेख गर्दै आफूहरुलाई फाइदा नभएमा कसैको निम्ति भ¥याङ नबन्ने स्पष्ट पारे । अध्यक्ष नेपालले आफूहरुले पाँचदलीय गठबन्धनलाई हातेमालो गर्दै अगाडी बढाउन चाहेको बताए ।
उनले भने– ‘चुनावमा हामीले चाहिरहेका छौँ, पाँचदलीय गठबन्धन सँगसँगै हातेमालो गर्दै हामी अघि बढौँ । तर हामीले गठबन्धन गर्दाखेरी हाम्रो पार्टीलाई जुन हिसावले नेपालको राजनीतिमा अगाडी बढाएका छौँ । राष्ट्रिय राजनीतिमा जुन भुमिका हामीले खेल्दै आएका छौँ । त्यसलाई कसैले पनि नजरअन्दाज नगरुन् । यो कुरालाई म समयमा भन्न चाहन्छु । जम्मै सिट आफूले लिने अनि उब्रिएको सिट हामीलाई दिने । यो कुरा हुन्छ भने त्यो हामीलाई स्वीकार्य हुन सक्दैन भन्नेकुरा पनि म प्रष्ट पार्न चाहन्छु । धेरै ठाउँको मैले रिपोर्ट पाएको छु । साथीहरुले भन्नुभएको छ, त्यस्तै प¥यो भने हामी दृढताकासाथ अघि बढ्ने काम गर्छौ कमरेड । हामी कोही पनि आत्तिनुपर्ने आवश्यकता छैन । गठबन्धन भनेको दुईवटैलाई फाइदा हुने, वीन–वीन जसलाई भनिन्छ । फाइदा हुन्छ भने गठबन्धन हुन्छ । अब फाइदा हुँदैन भने अरु कसैको निम्ति हामी भ¥याङ हुन चाहँदैनौँ ।’
उनले संकटको बेलामा साथ दिने सहयात्रीलाई अवमूल्यन गर्नु नहुने बताए । अध्यक्ष नेपालले सिट बाँडफाँटको विषय छिटोभन्दा छिटो टुंग्याउन चाहेको पनि स्पष्ट पारे ।
युवासंघ नेपालले पत्रकार सम्मेलनमार्फत महाकाली–मेची युवा जागरण अभियान–२०७९ घोषणा गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा खर्चिला, भड्किला निर्वाचन प्रचार कार्यक्रम तथा उम्मेदवारहरुलाई बहिष्कार गर्न र पार्टीको निर्वाचन चिन्ह कलममा मत माग्ने उद्देश्यले भाद्र १५ गतेदेखि २३ गतेसम्म अभियान सञ्चालन गर्न लागेको युवा संघ नेपालले जनाएको छ । अभियानको मुल नारा ‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ रहेको छ ।