काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकाल्दा नापोली बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई २–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन डुसन लाहोभिक र आर्काडिउस मिलिकले एक–एक गोल गरे । खेलको नवौं मिनेटमा गोल गर्दै डुसनले युभेन्ट्सलाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा मिलिकले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।
जितसँगै युभेन्ट्सले ४ खेलबाट ८ अंक जोडेको छ । युभेन्ट्स तालिकाको चौथो स्थानमा छ ।
बुधबार राति नै भएको अर्को खेलमा नापोली लेसेसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलमा सुरुवाती लिएको अग्रता जोगाउन नसक्दा नापोली बराबरीमा रोकिएको हो ।