काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटको विषयलाई लिएर गठबन्धन भित्र कुनै असहमति नरहेको दाबी गरेका छन् । शुक्रवार नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले गठबन्धनमा सिट संख्याको बारेमा लगभग टुंगिसकेको र एकै पटक प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी काम शुरु भएकोले समय लागेको बताए । उनले शनिवार बस्ने गबन्धनको बैठकबाट प्रदेश र संघको निर्वाचनमा क्षेत्र पनि तोक्ने बताए । अध्यक्ष दाहालले गठबन्धनलाई अझ प्रभावकारी कसरी बनाउने भन्नेतिर छलफल केन्द्रित रहेको बताए ।
उनले प्रदेश र संघको निर्वाचनमा गठबन्धनका सबै दलको सन्तुलन मिलाउने गरी छलफल भइरहेको बताए । अध्यक्ष दाहालले चितवन क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी रहने स्पष्ट पारे । नेकपा एमालको उपाध्यक्ष रामबहादुर थापासँग प्रतिष्पर्धा हुने हो भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले तुलना नहुने कुरा नसोध्न समेत आग्रह गरे ।
अध्यक्ष दाहालले कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) को राम्रो प्रभाव रहेको भन्दै सन्तुलित ढंगको तालमेल गर्ने प्रतिवद्धता जनाए । उनले माओवादीले आगामी दिनमा कर्णालीमा सरकार बनाउने स्थिति र गठबन्धनलाई जारी राख्ने स्थिति कायम गर्ने बताए । अध्यक्ष दाहालले विगतमा गरेका कामको आत्मसमीक्षा नगरेसम्म नेकपा एमालेसँग सहकार्य नहुने पनि स्पष्ट पारे ।