काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि बुधबार सम्ममा सिट बाँटफाँट टुंगो लगाउने गरी छलफल भइरहेको बताएका छन् । मंगलबार धनगढी विमानस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले बुधबार शीर्ष तहका नेताहरु बसेर सिट टुंगो लगाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।
उनले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा पाएको कार्यदललाई आज बेलुकीसम्मको समय दिइएको पनि बताए । माओवादी केन्द्रले पनि ६० सिटमा दाबी गरेको भन्दै उनले त्यसकै वरिपरि सहमति जुट्ने विश्वास व्यक्त गरे । ‘हामीले भनेको त ६० हो, ६० बाट केही तलमाथि होला, तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ,’ उनले भने ।
यसैगरी नेपाली कांग्रेसले सुरुमा एक सय सिटमा दाबी गरे ८० सिट आसपासमा सहमति हुने सम्भावना रहेको प्रचण्डले बताए । ‘उहाँहरुले सुरुमा सय भन्नु भएको थियो, तपाईंले सुन्नु भएको थियो तर पछि ८० को वरिपरि आउने सम्भावना बढ्दो छ,’ प्रचण्डले भने ।
एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका पनि आ–आफ्ना दाबी रहेको भन्दै उनले सिट संख्या, क्षेत्र र प्रदेश एकै चोटी टुंग्याउने प्रयास भइरहेको बताए । प्रदेश र संघको निर्वाचनमा समाज केन्द्रित भएको बताउँदै उनले भने, ‘गठबन्धन कायम भएरै जान्छ त्यसको अन्तिम तयारी चलिरहेको छ ।’