काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापाले सरकारी विद्यालयमा कार्यरत लेखापालहरुको सेवा, सुविधा र पारिश्रमिक उनीहरुको तह अनुसार मिलाउनका लागि सरकारसँग माग गरिन् । उनले शिक्षा क्षेत्रको विकृति र विसंगतिको अन्त्य गर्न तत्काल संघीय शिक्षा ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराईन् ।
उनले भनिन्– ‘देशभरी करिव ३६ हजारको संख्यामा रहेका सरकारी विद्यालयमा कार्यरत कर्मचारीहरु छन् । सरकारी विद्यालयमा ६ हजार ४२३ जना लेखापालहरु कार्यरत छन् । लामो समयदेखि आन्दोलनमा छन् । कहिले देशभर विद्यालय पठनपाठन बन्द त, कहिले राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् । कहिले शिक्षा मन्त्रालयमा भेटघाट त कहिले अर्थ मन्त्रालयमा धाइरहेका छन् । उनीहरुको तह अनुसारको सेवा, सुविधा र पारिश्रमिकको व्यवस्था मिलाउन र शिक्षा क्षेत्रमा देखिएको सम्पूर्ण विकृति र विसंगतिको अन्त्य गर्न तत्काल संघीय शिक्षा ऐन निर्माण गरी समस्या समाधान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’