काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले इन्द्रजात्रालाई ग्लोबलाइज गर्ने प्रयास आफूहरुले गरिरहेको बताएका छन्। इन्द्रजात्राको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बालेनले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास महानगरपालिकाले गरिरहेको बताएका हुन्।
महानगरपालिकाले इन्द्रजात्रा अवलोकन गर्न भगिनी सम्बन्ध भएका पालिका र विभिन्न देशका शहरका जनप्रतिनिधिलाई निमन्त्रणा गरेको छ। अतिथिहरु काठमाडौं आउने क्रम सुरु भइसकेको छ। कोरोना संक्रमण जारी रहेकाले निमन्त्रणा गरिएका केही पालिकाका प्रतिनिधिहरु आउन नसक्ने जानकारी पाएको उनेल बताए।
उनले भने, ‘विभिन्न राष्ट्रका विभिन्न शहरका प्रतिनिधिहरु आएर इन्द्रजात्रा हेरेर यो जात्रामात्रै नभएर काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरु घुमेर यो ठाउँहरुको बारेमा उहाँहरुले पनि आफ्नो देशमा गएर बोलिदिनुहुन्छ, आफ्नो देशमा थोरै भएपनि प्रचार गरिदिनुहुन्छ भन्ने आशाले विदेशी पाउनाहरु पनि बोलाउँदै छौँ।’