काठमाडाै । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई रुपान्तरण गरेर नविन बनाउनुपर्ने आवश्यक्ता रहेको बताएका छन् । शुक्रवार सुन्दरीजलमा नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोईरालाको १०९ औँ जन्मजयन्तीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महामन्त्री शर्माले ७० वर्षदेखि एउटा धारामा बगेको दललाई निरन्तर्तामा नविनता थपेर अघि बढाउन आवश्यक रहेको बताए । उनले विगतका कमी कमजोरीलाई आत्मलोचना गरी रुपान्तरित काँग्रेस बनाउनका लागि चालिएका कदमको समीक्षा गर्न आवश्यक भएको बताए । उनले नेपाली काँग्रेसलाई एकातिर बदलिएको बलियो काँग्रेस बनाउने दायित्व रहेको र अर्कोतिर अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकुलताको बीचमा नेपाली काँग्रेसलाई बलियो दलको रुपमा बहुमतको लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताए । उनले ५ वर्षको सरकारको कुरा नभइ १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने बताए ।
उनले आगामी निर्वाचनको घोषणापत्रमा सबै पक्षलाई समेटर घोषणापत्र बनाउने बताए । उनले भने, ‘हामीले कार्य गरिरहेको दल अब परिवर्तित गरेर नविन बन्नुपर्छ । यसको रुपान्तरण गर्न जरुरी छ । रुपान्तरण साँझ र बिहान जस्तो हुँदैन । समय लाग्छ । ७० वर्षदेखि एउटा धारामा बगेको दल छ । अहिले नेपाली काँग्रेसको घोषणापत्र लेख्ने जिम्मेवारी पाएको बेलामा निरन्तरतामा नविनता ल्याउनुपर्छ । ७० वर्षको निरन्तर यात्रालाई अघि बढाउँदै नविनता पनि अघि बढाउनु पर्छ । वर्षमा भएका कमजोरीलाई हामीले आत्मलोचना गरेर जानुपर्छ । एक वर्षमा हुन खोजेका प्रयत्नहरुमा सार्थकता किन हुन सकेन भनेर खोज्नुपर्छ । काँग्रेसलाई रुपान्तरित गरेर जाने भन्ने यो वर्षमा भएका कामहरुलाई पनि समीक्षा गर्नुपर्छ । नेपाली काँग्रेसलाई एकातिर बदलिएको बलियो काँग्रेस बनाउने दायित्व छ, अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकुलताको बीचमा नेपाली काँग्रेसलाई बलियो दलको रुपमा बहुमतको लक्ष्य लिएर सँगैका सहयात्रीलाई साथमा राखेर केवल निर्वाचनपछिको ५ वर्षको सरकारको कुरा मात्रै होइन, १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्छ । निर्वाचनको घोषणापत्र लेख्दा सबै पक्षलाई समेटेर लेख्नुपर्छ ।’