
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन खबरले दुःखी बनाएको बताएका छन् । बिहीबार बेलायती महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको थियो ।
पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट उनका संवाद सचिव डा फणीराज पाठकले शुक्रबार शोक सन्देश जारी गर्दै महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति समवेदना प्रकट गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको शोक सन्देशः
संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयाको निधनको खबर सुनेर हामीलाई दुःख लागेको छ । स्वर्गीय महारानी राजगद्दीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरिबक्सेको कुरा सदा स्मरणीय छ । साथै नेपालप्रति उहाँको अगाध आत्मीयता पनि सदा उल्लेख्य छ ।
नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दिभन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्दै विभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसँगको भेट वार्तालाई गहनतम प्राथमिकता दिएका छौं ।
उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनता प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend