काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसले आफ्नो हैसियत अनुसार निर्वाचनको सिट संख्या बाँडफाँड गराउने काममा भने बुद्धिमतापूर्वक काम गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेसमा आवद्ध नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री खाँणले भने, ‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँडमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ । तर गठबन्धन तोडेर हेरौं भनेर भन्नु हुन्छ भने नेपाली काँग्रेसको केन्द्रिय समितिले अहिले गठबन्धन तोड्दैन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य साथीहरुले यसरी पार्टीका तरुण साथीहरुलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन । तपाईहरुलाई जे हो ? त्यही भनिदिनु पर्दछ । अहिले नेपाली काँग्रेसको भूमिका के हो ? नेपाली काँग्रेसको एउटा केन्द्रिय सदस्य, गठबन्धन सरकारको गृहमन्त्री भएको नाताले यो गठबन्धनलाई बचाएर आगामी निर्वाचन सुनिश्चित र सुरक्षित गर्ने, यो निर्वाचनलाई शान्ति, सुरक्षा प्रदान गर्ने, निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरहित रुपमा सम्पन्न गर्ने दायित्व मेरो हो । त्यो म पूरा गर्नेछु । हामी गठबन्धनमा आवद्ध छौं । गठबन्धनको उम्मेदवारलाई जिताउने हाम्रो राजनीतिक विश्वसनियता हो । राजनीतिक धर्म र दायित्व हो ।’