काठमाडौं । छैटौं साफ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज (सोमबार) साँझ श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रङ्गशालामा ५ः३० बजे सुरु हुने खेलमा नेपाल जितको लक्ष्यका साथ मैदान उत्रने तयारीमा छ ।
सेमिफाइनलमा स्थान बनाउन नेपाललाई यस खेल निकै महत्वपूर्ण छ । समूह बीमा रहेको नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ४–० गोलले पराजित गरेको थियो । आज श्रीलङ्कालाई हराउन सके नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।
यसअघि नेपाल र श्रीलङ्काबीचको खेलमा नेपाल हावी हुँदै आएको छ । दुई टोलीबीच यसअघि भएको ६ खेलमा नेपालले ६ वटै जित निकालेको थियो । श्रीलङ्कालाई पनि सेमिफाइनलमा स्थान बनाउन नेपाललाई फराकिलो गोल अन्तरले पराजित गर्नुपर्ने बाध्यता छ ।