काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसदको पाँच वर्षे कार्यकाल राम्रो नभएको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसदको पाँच वर्षे कार्यकाल अघिल्लो निर्वाचनपछि अनुमान गरिए अनुरुप नभएको बताए । उनले केही नेताहरुको चरम व्यक्तिवाद र अहंकारका कारण मुलुक अन्योलको दिशातर्फ गएको बताए ।
अध्यक्ष नेपालले राष्ट्रको विकास र सुशासनको दृष्टिले संसदको पाँच वर्षको कार्यकाल राम्रो नभएको बताए । उनले देशमा सुशासन हुन नसक्नु र विकासको काम अगाडी नबढ्नुले आफू चिन्तित रहेको पनि बताए ।
यथास्थितिमा देशलाई अगाडी बढाउन नसकिने भन्दै अध्यक्ष नेपालले विचार र कार्यशैलीमा रुपान्तरणको आवश्यकता रहेको बताए ।
अध्यक्ष नेपालले गठबन्धनको सिट बाँडफाँटमा ६० प्रतिशत भन्दा बढी सिटमा सहमति भइसकेको बताए । उनले ठूला पार्टीहरुले जम्मै सिट लिन खोज्दा समस्या खडा भएको टिप्पणी गरे ।