logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • धेरै नेता भएको रोल्पामा माओवादीलाई उम्मेदवार छान्नै मुश्किल

    धेरै नेता भएको रोल्पामा माओवादीलाई उम्मेदवार छान्नै मुश्किल

    10.8K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रले रोल्पामा २०७४ सालको निर्वाचनमा सर्वसम्मतले उम्मेदवार चयन गरेकोमा यसपटक भने प्रतिनिधिसभाका लागि ६ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, जयपुरी घर्ती, झक्कुप्रसाद सुवेदी र कुलप्रसाद केसीलाई सिफारिस गरेको माओवादीको जिल्ला समितिले समानुपातिक तर्फ तारा घर्तीको नाममात्रै सिफारिस गरेको छ ।

    पहिलो पुस्ताकै नेताबीच उम्मेदवार बन्ने प्रतिस्पर्धा हुँदा दोस्रो–तेस्रो पुस्ताका नेताले अवसर पाउन सकेका छैनन् । नेकपा माओवादी केन्द्र रोल्पाका अध्यक्ष गुणेन्द्र घर्तीमगरले शीर्ष नेताहरुलाई नयाँ पिँढीलाई अवसर दिन आग्रह गरेको बताउँछन् । ‘नयाँ पिँढीलाई पनि अवसर दिन एक पटक अवसर लिएकाहरुलाई नदोहोरिनुस् भनेका छौं, दोहोरिने हो भने अन्य जिल्लामा जान आग्रह गरेका छौं’ उनले भने ।

    क्षेत्र थोरै, नेता धेरै

    रोल्पामा प्रतिनिधिसभाको एउटा र प्रदेशसभाका दुईवटा निर्वाचन क्षेत्र छन् । क्षेत्र थोरै र नेता धेरै भएकाले रोल्पाका नेताहरु अन्य जिल्लामा गएर जनप्रतिनिधि बनेका छन् ।

    नेकपा माओवादी केन्द्रको उपाध्यक्षसमेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरा २०७४ सालमा दाङ–२ बाट निर्वाचित भएका थिए । २०४८ सालमा रोल्पा–२ बाट प्रतिनिधि सभाको चुनाव जितेका उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि दाङ झरेका थिए । त्यतिबेला दाङ–३ बाट निर्वाचित महरा २०७० सालमा भने रोल्पा –१ बाट निर्वाचित भएका थिए ।

    यसपटक भने महरा समानुपातिक पद्धतितर्फ उम्मेदवार बनेका छन् । अरु नेतालाई अवसर दिन समानुपातिकम बसेको महराको प्रतिक्रिया छ । रोल्पा घर भएका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गृह जिल्लाबाट चुनाव लडेको २०७४ सालमा हो । २०६४ सालको संविधानसभा निर्वाचनमा ललितपुर–२ बाट निर्वाचित भएका उनी २०७० सालको निर्वाचनमा मोरङ–७ बाट पराजित भए । यसपटक रोल्पाबाटै उम्मेदवार बन्न चाहेका पुनसँगै उनकी पत्नी ओनसरी पनि उम्मेदवारमा सिफारिस भएकी छन् ।

    वर्षमान रोल्पामै दोहोरिँदा उनले त्यहाँबाट टिकट पाउने अवस्था हुँदैन । माओवादीले उनलाई काठमाडौं– २ बाट उम्मेदवार बनाउने चर्चा पनि छ । यद्यपि सत्ता गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाँट नै टुंगिएको छैन । २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक पद्धतिबाट निर्वाचित उनी २०७० सालमा रोल्पा–२ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । २०७४ सालमा भने उनी समानुपातिक पद्धतिबाट सांसद बनिन् ।

    रोल्पाकै नेता जयपुरी घर्ती २०६४ सालको संविधानसभा निर्वाचनमा रोल्पा–२ बाट निर्वाचित भइन् । २०६९ सालमा पार्टी विभाजन हुँदा मोहन वैद्यको पार्टीमा गएकी उनी २०७० सालमा जनप्रतिनिधि बनिन् । माओवादीमै फर्किएपछि २०७४ सालमा उनी समानुपातिक पद्धतिबाट सांसद बनिन् । रोल्पाको एक क्षेत्रबाट धेरै नेताको प्रतिस्पर्धा भएका कारण उनले टिकट पाउने सम्भावना कम छ ।

    झक्कुप्रसाद सुवेदीले २०६४ सालको संविधानसभा चुनाव काठमाडौं–२ बाट नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई हराएर चर्चामा आएका थिए । उनी काठमाडौंबाटै चुनाव लडेका उनी २०७० र २०७४ को चुनावमा भने पराजित भए । माओवादीले सहजै जित्न सक्ने क्षेत्र रोल्पाबाट उनी यसपटक चुनाव लड्न चाहान्छन् तर उनले त्यहाँबाट टिकट पाउने सम्भावना छैन ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी पनि प्रदेश छाडेर प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहेका छन् । पुनःमुख्यमन्त्री नै बन्न पाउने भरपर्दो आश्वासन पाए प्रदेशमा दोहोर्‍याउन तयार भएका उनी अन्यथा प्रतिनिधिसभाको उम्मेदवार पाउनुपर्ने अडानमा छन् ।

    २०७४ सालको निर्वाचनमा रोल्पा प्रदेशसभा ९क० बाट निर्वाचित भएका थिए । माओवादीका जिल्ला नेताहरु यस पटक उनलाई प्रदेशसभा निर्वाचन क्षेत्र पाउन पनि मुश्किल रहेको बताउँछन् । सत्तारुढ दलहरुबीच तालमेल हुँदा रोल्पाको प्रदेशसभा अन्य दललाई पनि दिनुपर्ने भएकाले टिकट पाउन मुश्किल परेको हो ।

    त्यस्तो अवस्थामा माओवादीका थप नेताहरु अवसरबाट वञ्चित छन् । सो क्षेत्रमा नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले दाबी गर्दै आएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा लामो समय काम गरेका जोखबहादुर महरा रोल्पाबाट प्रदेशसभामा आकांक्षी छन् । उनी प्रदेशसभा क बाट सिफारिस भएका छन् । उनी यसअघि २०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक पद्धतिबाट संविधानसभा सदस्य बनेका थिए ।

    प्रदेश सभा क बाट शुकबहादुर रोकामगर, गुणेन्द्र घर्तीमगर र पूर्ण केसीको नाम पनि सिफारिस भएको छ । तत्कालिन माओवादी लडाकुको पूर्व कमाण्डर रोकामगर हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत छन् । उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुन ।

    माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाको अध्यक्षसमेत रहेका घर्तीमगर र सोही पार्टीको जिल्ला सचिव एवम रोल्पा नगरपालिकाका निवर्तमान नगर प्रमुख पूर्ण केसी पनि यस पटक प्रदेश सभा क को प्रत्यक्षतर्फ आकांक्षी देखिएका छन् । प्रदेश सभा ख को प्रत्यक्षतर्फ मुख्यमन्त्री केसीका साथै दीपेन्द्र पुनमगर, राजबहादुर वुढामगर, निमकान्त डाँगी र वीरबहादुर खत्रीको नाम सिफारिस भएको छ ।

    दीपेन्द्र पुनमगर अघिल्लो चुनावमा लुम्विनी प्रदेश सभा ख बाट निर्वाचित भएका थिए । माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य समेत रहेका उनी सशस्त्र युद्धका घाइते समेत हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend