काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कर्मचारी समायोजनको प्रक्रिया चित्तबुझ्दो नभएको बताएका छन् । मंगलवार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री खापुङले अहिले चिकित्सा क्षेत्रमा भइरहेको स्वास्थ्यकर्मीहरुको परिचालन र उनीहरुलाई दिएको जिम्मेवारी बाँडफाँटमा धेरै असन्तुष्टि आइरहेको बताएका हुन् । उनले देश संघयिताको अभ्यासका क्रममा रहेको भन्दै कर्मचारी क्षेत्रको समायोजन प्रक्रियामा अधिकांश कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरिरहेको भन्ने आफ्नो बुझाइ रहेको बताए । मन्त्री खापुङले संघीयतालाई सहज बाटोमा लैजान सबैलाई चित्तबुझ्दो र सबैलाई सम्मान हुने बाटो खोज्नुपर्ने बताए । उनले तीनै तहको सरकार आफ्नो आफ्नो ठाउँमा जिम्मेवार र अधिकार सम्पन्न भएकोले संघीयतालाई व्यवस्थित गर्न लाग्नुपर्ने बताए ।
उनले भने, ‘अहिलेको स्वास्थ्य क्षेत्रका चिकित्सकहरुको परिचालन, विभिन्न ठाउँमा जिम्मेवारी बाँडफाँटको कारणले सबैलाई चित्त बुझाइ छैन कि जस्तो मैले बुझेको छु । हामी संघीयताको अभ्यास गरिरहेका छौँ । स्थानीय तह, प्रदेश र केन्द्र, तीन तहको सरकार सञ्चालित छ । अभ्यासकै क्रममा हामी कर्मचारी क्षेत्रको पनि समायोजन भएर कोही स्थानीय तह, कोही प्रदेश र कोही संघमा आवद्ध भएका छौँ । यसबाट पनि धेरै स्वास्थ्यकर्मीहरु यो अलि सही ढंगको भएन की भन्ने गुनासो छ भन्ने मेरो बुझाइ छ । मलाई लाग्छ, संघीयता लागू भइसकेको छ, संविधानले निर्दिष्ट गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र हामीले घोषणा गरिसकेका छौँ । त्यसलाई सहज बाटोमा लैजान लागि र सबैलाई चित्तबुझ्दो किसिमले सबैलाई सम्मान हुने बाटो हामी सबैले खोज्नुपर्छ यही संघीयता भित्र नै भन्ने लाग्छ । हामी सबै आफ्ना आफ्ना ठाउँमा जिम्मेवार छौँ । राजनीतिक गर्ने जिम्मेवार निकायका व्यक्तिहरुले पनि आफ्नो ठाउँमा जिम्मेवार हुनुपर्छ । हामी आफ्नो आफ्नो ठाउँमा जिम्मेवार मात्रै नभएर अधिकार सम्पन्न छौँ ।’
मन्त्री खापुङले हरेक तह र तप्कामा रहेर काम गर्ने मानिसहरु आफ्नो कार्य क्षेत्रमा विज्ञ हुने उल्लेख गरे ।