काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको कदमको बचाउ गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘यो अहंकारी गठबन्धनले राष्ट्रपतिलाई विधेयकबारे कुनै जानकारी गराउँदैन। संविधानले अनिवार्यरुपमा जानकारी गराउनुपर्छ भन्छ तर यो गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठान्छ,’ पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उनले भने।
सरकार तानशाही बाटोतर्फ अघि बढेको ओलीको आरोप छ। ‘संविधान र कानुनको पालना नगरेर बुद्धिको होइन मसलका कुरा गरेर यो गठबन्धन तानाशाही बाटोतर्फ अघि बढेको छ,’ उनले भने।
सत्ता गठबन्धनलाई एमालेले प्रतिनिधिसभाको निर्वाचनबाट हटाउने ओलीको दाबी छ।