काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको संरक्षकबाट संविधान मिचिएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताएका हुन् । उनले संरक्षकबाट नै जानिबुझि संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धीहरु खोस्ने षड्यन्त्रको रुपमा रहेको टिप्पणी गरे ।
उनले देशमा प्रतिगमनको षड्यन्त्र गत वर्षदेखि सुरु भएको उल्लेख गर्दै हालसम्म नरोकिएको बताए । आफूहरुले शतर्कता गुमाएमा तथा एकतालाई कमजोर पारेमा कुनैपनि दिन प्रतिगमन हुनसक्ने खतरा रहेको उनको भनाई थियो ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणिकरण नगरेकोप्रति असन्तुष्टि व्यक्त गरे । विधेयक प्रमाणिकरण नगरेर संविधान र परिवर्तनमाथि प्रहार भएको उनको भनाइ छ ।उनले प्रतिगमनको फण्डाहरु उठेको भन्दै परिवर्तनको रक्षाका लागि सडकमा जानुपर्ने आवश्यकता रहेको बताए ।
उनले एकथरी मानिसहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हालेर बसेका जिकिर गरे । प्रचण्ड अस्थिरताको कारण हो भन्ने प्रचार गरिएको भन्दै सो प्रचार पनि प्राप्त राजनीतिक उपलब्धीहरु उल्ट्याउने षड्यन्त्रको रुपमा भएको बताए ।