काठमाडौं । सत्ता गठबन्धनका नेताहरुको बैठक जारी छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटमा सहमतिको नजिक पुगेको दाबी गर्दै आएका सत्ताधारी दल बैठकमा व्यस्त छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रदेश सभाको सिट बाँडफाँटका लागि छलफल भइरहेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
यही असोज १६ गतेभित्र सिट बाँडफाँट टुंगो लगाइसक्ने दाबी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् । गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो।
कार्यदललाई कुन दलले कुन–कुन क्षेत्रको कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिए पनि अझैसम्म टुंगो लाग्न सकेको छैन । नेताहरुका अनुसार प्रतिनिधि सभातर्फको सिट बाँडफाँटको विषय लगभग टुंगो लागिसकेको छ । त्यसैले आइतबारदेखि कार्यदलमा प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल हुँदै आएको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।