भरतपुर । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले चितवन मेडिकल कलेजको आईसीयू लगायतका क्षेत्रमा तोडफोड गरेका छन् ।
यही असोज १७ गते बिहान ७ बजे उपचारका लागि कलेजमा आएका चितवन भरतपुर महानगरपालिका वडा नं.१३ उजेलीनगरका ३६ वर्षीय रमेश कुँवरको मृत्यु भएको थियो । हिजो बिहान ७ बजे पेट दुखेको भन्दै रमेशलाई आफन्तले मोटरसाइकलमा ल्याएर अस्पताल भर्ना गरेका थिए । मृतक रमेशका ज्वाइँ सागर कुँवरले चिकित्सकको लापहरबाहीले मृत्यु भएको भन्दै छानबिनको माग गरिएको बताए ।
मृतकका आफन्तहरुले कलेजले उपचारमा लापर्वाहीले मृत्यु भएको आरोप लगाउँदै मेडिकल आईसीयू, अस्पतालको मूल ढोकाको लबी, कलेजका बसलगायतका सवारी साधानमा तोडफोड गरेर क्षति गरेका छन् । अस्पताल तोडफोड गर्ने १३ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले बिरामी आउँदा नै मल्पिटल सिण्ड्रोमसहित आएको र कुँवरलाई बचाउने अनेकन प्रयास गर्दागर्दै ‘सेप्टिक सक’ भई निधन भएको बताए । देवकोटाका अनुसार बिहान रगतमा संक्रमण फैलिसकेको अवस्थामा आएका कुँवरलाई दिउँसो १२.१५ बजे आईसीयूमा राखेर उपचार गरिएकोमा साँझ सवा ५ बजे मृत्यु भएको थियो ।
बिरामी बचाउने कलेजको अथक प्रयास, बिरामीमा भएको संक्रमणको अवस्था, उपचारको प्रोटोकल जस्ता विषयलाई बुझ्नेसम्म प्रयास नगरी लापरबाही गरेको भनेर गरिएको तोडफोडले आफूहरुलाई दु:खी बनाएको बताए ।
वडा दशैंको अवसरमा सबै जना आआफ्नो परिवारसँग बसेर पर्व मनाइरहेका बेला आफ्नो घर परिवार छाडेर जनताको उपचारमा दिनरात खट्ने स्वास्थ्यकर्मी र अस्पतालमाथि भएको आक्रमण र दुर्व्यवहारले काम गर्न असहज अवस्था उत्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाको भनाइ छ । उनले घटनाको छानबिन गर्न सरकारका निकायलाई अनुरोध गरिएको बताए ।