logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • यी १० गीत जो दशैंका लागि प्रख्यात छन्

    यी १० गीत जो दशैंका लागि प्रख्यात छन्

    5.1K
    Shares

    काठमाडौं । दशैं आउनु केही दिन अगाडिदेखि रेडियो टिभीमा मंगल धुन बज्न थाल्छ। त्यसरी बज्ने दशैं गीतले झनै दसैंमा रौनकता थपिदिन्छ। नेपाली गीतसंगीतको इतिहासमा दसैंसम्बन्धी गीतले ठूलो महत्व राखेको छ।

    संगीत क्षेत्रमा लागेका अधिकांशले चाडवाडसम्बन्धी गीत गाउने गरेका छन्। धेरै दशैं गीत बज्ने गरे पनि दशैंभरि धेरै बज्ने मुख्य दस गीतले नेपालीको मन छुने गरेको छ।

    १.विछोडको पीडा नसकी खप्न दसैंको बेलामा..
    दशैं सम्बन्धी गीत भन्नेबित्तिकै हामी यो गीतलाई सम्झिन्छौं। कालजयी र नेपालीको दशैं झल्काउने आलाप बजेपछि दशैं आइसकेको अनुभूति हुन्छ। यो गीत दशैं सम्बन्धी पुरानो चर्चित गीत हो। सन् १९७० को दशकमा नारायण गोपालले दार्जिलिङमा गएर दिलमाया खातीलाई भेटेरै यो गीत गाउन आग्रह गरेका थिए।

    त्यसपछि कलकत्तामा नारायण गोपाल र दिलमाया खातीको स्वरमा रेकर्ड गरिएको युगल गीतकै ऐतिहासिक गीत पनि हो। रेडियो नेपालमा दसैंको गीतमध्ये धेरै बजेको यो गीत अहिले सबै रेडियोले दसैंमा बजाउने गरेका छन्।

    २. नमुछे आमा दहीमा टीका…

    दशैं आउनेबित्तिकै रेडियो टिभीमा बज्ने यो गीतले पनि नेपाली मन दुख्ने गरेको छ। नारायण रायमाझीले एकसरो लोकभाकामा गाएको यो गीत २०५७ सालमा कृष्णभक्त राईले विभिन्न बाजा राखेर गाएपछि दशैंको गीतको चर्चित गीत बन्यो।

    भारतीय सेनामा रहेका रायमाझीका दाइ लक्ष्मण रायमाझीले भारत–पाकिस्तानको कार्गिलको लडाइँ सन् १९९९ ताका यो गीत लेखेका थिए। नेपाली जनजीवनलाई बोकेको यो गीत यथार्थमा पनि मन छुने बनेको छ।

    ३.दशैं नै हो कि यो मेरो दशा फर्किआएको…

    यो गीत पनि दशैंको गीतमध्येको चर्चित गीत हो। योगेश्वर अमात्यको स्वरमा रहेको यो गीतमा दशैं गीतकै फरक स्वाद पाइन्छ। बढ्दो महँगीले नेपाली समाजलाई पारेको असर यो गीतमा प्रस्तुत छ।

    न्ह्यु बज्राचार्यको संगीतमा रहेको यो गीतको शब्द गुमनाम जस्तै रहेका सर्जक प्रेम बस्नेतले लेखेका थिए। विसं २०५० ताका संवाद समेत हालेर बनेको यो गीत दसैंको परिचय जस्तै बनेको छ।

    ४.यसपालि दसैंमा ठूलो दाजु आउने रे…

    कूल पोखरेलको स्वरमा रहेको यो गीत दसैंसम्बन्धी गीतको अर्को चर्चित गीत हो। कूल पोखरेलको सम्झनामा अन्य गायकले पनि यो गीतको कभर गाएर युट्युबमा राखेका छन्।

    कूल पोखरेललाई दशैंमा मज्जाले सम्झाउने गीत हो यो। नेपाली गीत संगीतमा फरक नामले परिचय बनाएका पोखरेलको यो गीत बालबालिकाले समेत खुब मन पराउने गरेका छन्।

    ५. यो दसैंमा म घर आइनँ…

    नेपाली लोकदोहोरी गीतमा दशैं गीत भन्नेबित्तिकै यो गीतको सम्झना आइहाल्छ। एसएसएस म्युजिकले बजारमा ल्याएको यो गीतमा रेशम थापा र उद्धव कार्कीलाई सीता थापा र गीता कोइरालाले स्वरमा साथ दिएका छन्।

    लोकदोहोरी मन नपराउनेले पनि यो गीत दशैं गीतको दोहोरीमा ऐतिहासिक गीतको रूपमा लिएका छन्। परदेशबाट घर फर्किन नसकेका नेपालीको पीडा यो गीतमा समेटिएको छ।

    ६.रातो टीका दसैंको जमरा…
    नेपाली चलचित्रमा पनि दसैं तिहारको गीतले अत्यधिक चर्चा पाउने गरेको छ। मनमन्दिर चलचित्रमा रहेको यो गीतले पनि दशैंको झल्को ल्याउँछ। नायक राजेश हमाल र नायिका झरना थापाको नृत्य रहेको यो गीत अहिले पनि दशैंमा उत्तिकै बज्छ।

    ७. दसैंं आयो..

    नेपाली चलचित्र मुग्लान मा रहेको दशैं आयो गीत पनि दशैंमा अत्यधिक बज्ने गीतमा पर्छ। पछिल्लो पुस्ताको युवामा यो गीत झनै चर्चित गीत हो। सुन्न मात्र होइन दसैंका कार्यक्रममा रमाइलोसँग यो गीतमा युवा पुस्ता नाचिरहेका हुन्छन्।

    ८. वर्ष र दिनमा लै लै …
    सुगम पोखरेलको स्वरमा रहेको यो गीत पनि युवा पुस्ताले औधी रूचाएको दसैं गीत हो। रवि श्रेष्ठको शब्दमा तयार भएको यो गीतमा पनि स्रोताले दसैं गीतको फरक स्वाद लिने गरेका छन्।

    दसैंमा मात्रै नभएर अन्य समयमा पनि यो गीत पोखरेलले विभिन्न कार्यक्रममा गाउने गरेका छन्। नेपाली परिवेशमा यो गीतमा पनि परदेशीको व्यथालाई पनि समेटिएको छ।

    ९. थालैभरि रातो रातो अक्षता र पाती..

    सुनिल गिरीको स्वर, संगीत र शब्दमा आएको यो गीत पनि केही वर्षदेखि नियमित चर्चामा छ। रिकेस गुरुङले एरेन्ज गरेको यो गीत युट्युबमा धेरैले मन पराएका छन्।

    दसैंमा लाहुरे फर्किएको र गाउँको रमाइलो क्षणहरू समेटिएको गिरीको यो गीत पनि दसैं गीतमा रूचाइएको गीत हो।

    १०. परदेशबाट फरिया ल्याइदिउँला..

    शिव थापा मगरको स्वर, शब्द, संगीतमा रहेको यो गीत पनि चर्चा कमाएको दशैं गीत हो। उदयराज पौडेलको संगीत संयोजनसहित भाइब्स क्रियसनले बजारमा ल्याएको लोकपप शैलीको यो गीत पनि दसैंमा धेरैले सुन्न थालेका छन्।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend