logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बितेको ५ दिनमा मात्रै सडक दुर्घटनाबाट ५४ जनाको मृत्यु

    बितेको ५ दिनमा मात्रै सडक दुर्घटनाबाट ५४ जनाको मृत्यु

    4.6K
    Shares

    काठमाडौं । फूलपातीको दिन अर्थात असोज १६ गते देखि हिजो बिहीबारसम्म ५ दिनको अवधिमा देशभर ५५६ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार बितेका यी ५ दिनमा भएका दुर्घटनामा परि ५४ जनाको मृत्यु भएका छन् भने १ हजार ५७ जना घाइते भएका छन् ।

    प्रहरीले यो वर्षको दशैंमा यस अघिका वर्षहरुमा भन्दा बढी दुर्घटना भएको अनुमान गरेको छ । नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईका अनुसार फूलपातीयताको ५ दिनमा दुर्घटनाको दर ह्वात्तै बढेको छ । ‘फुलपाती यता १ हजार ५३० सवारीलाई ट्राफिक नियम उल्लंघनमा कारवाही गर्‍यौं,’ उनले भने, ‘हामीले सडक जति कडाइ गरे पनि दुखद् दुर्घटना हुन रोकिएको छैन ।’ यो तथ्यांकले यो वर्ष पनि दशैंको यात्रा सुरक्षित गराउने सरकारको प्रतिवद्धता पुरा नभएको देखाएको छ ।

    राईका अनुसार दशैंमा यात्रुको चाप उत्तिकै छ, सडक र राजमार्गभरि खाल्डा र उबडखाबड छन्, यस्ता जीर्ण सडकमा यान्त्रिक परीक्षण नगरी तीव्र गतिमा दौडिरहेका सवारी राजमार्गमा दशैंको समयमा दुर्घटनामा परिरहेका छन् । बिहीबार हेटौंडा अमलेखगञ्ज खण्डको ३ नम्बर पुलनजिकै ब्रेक फेल भएको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भयो । गत सोमबार मात्रै सोही सडक खण्डको चुरीयामाई मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए ।

    दशैंकै बीचमा यो वर्ष पनि यस्ता अनेकन दुर्घटनाहरु भएका छन् । जसमा धेरै अंगभंग पनि भएका छन् । दशैंमा दुर्घटना बढ्ने जोखिम भएरै सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनले अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने नियम बनाएर सूचना जारी गरेको थियो । तर, बनावटी सूचनाले दशैंको समयमा सम्भावित दुर्घटना टार्न सकेन ।

    प्रहरी प्रवक्ता राईका अनुसार सडक र गाडीको अवस्था जीर्ण भइसक्दा पनि दौडाइरहने प्रवृत्तिका दुखद परिणाम यस्ता दुर्घटना हुन् । राजमार्ग र ग्रामीण क्षेत्रमा चल्ने यात्रु कोचेर धेरै सार्वजनिक सवारीको प्राविधिक अवस्थाले कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने खतरा रहेको प्रहरीको निष्कर्ष छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend