काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईको टिकटलाई लिएर ताप्लेजुङमा चुनावी बहस तीव्र बनेको छ । एमालेका युवा नेता, पार्टी सचिव भए पनि अध्यक्ष केपी शर्मा ओलीसँगको आन्तरिक संघर्षका कारण भट्टराईको टिकटमा द्विविधा भएको थियो । खासगरी तत्कालिन नेकपा हुँदा माधवकुमार नेपाल र प्रचण्ड समूहमा रहेका उनले ओली सरकारको पर्यटनमन्त्रीबाट समेत राजीनामा दिएका थिए । राजीनामासँगै प्रचण्ड–नेपाल समूहको आधाउधी अभियान योगेशले नै हाँक्थे ।
पार्टी अलग हुने अवस्थामा भने योगेशले एमाले नै रोजे । १० बुँदे सहमति गर्दै पार्टीमा क्रियाशील रहे । महाधिवेशनबाट सचिव निर्वाचित भए । तर, प्रचण्ड–नेपाल समूहको ट्यागले योगेशलाई माथि उठ्न दिएको छैन ।
ताप्लेजुङमा भट्टराईसँगै तिलकुमार मेन्याङ्बोको नाम बराबरी आएको छ । तर, योगेशले शुक्रबार दिउँसो एक सूचना जारी गर्दै असोज २३ गते मनोनयन पत्र दर्ताको कार्यक्रमका आइतबार बिहान ११ बजे नेकपा एमालेको ताप्लेजुङस्थित पार्टी कार्यालयमा बोलाएका छन् ।
मनोनयनमा बोलाइएको सूचनालाई कतिपयले योगेशको टिकट फिक्स भएको भनेर बुझेका छन् । ‘हामीलाई दाइले भन्नुभएको छैन,’ उनी निकटको भनाइ छ, ‘सायद फिक्स भएरै बोलाउनुभएको होला ।’ एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति गरेर आएका अधिकांशलाई ‘स्पेस’ दिने संकेत गरेका थिए ।
भट्टराईसँगको भेटमा पनि अध्यक्ष ओलीले सकारात्मक संकेत गरेका थिए । तर, मुख नखोलेका कारण अन्यौल छ । भट्टराई केही दिनदेखि जिल्ला केन्द्रित अभियानमा छन् । उनले आफूलाई संघ र मेन्याङ्बोलाई प्रदेशमा व्यवस्था मिलाउन सुझाव दिएका थिए । बालकोट स्रोतका अनुसार भट्टराईले पार्टीमा एकपटक भएको अन्तर्संघर्ष दोहोरिने अनुमान नगर्न ओलीलाई आग्रह गरेका थिए । काठमाडौंबाट दुई पटक पराजित भएका भट्टराई २०७४ को चुनावमा गृहजिल्ला ताप्लेजुङबाट निर्वाचित भएका थिए ।