काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं महाधिवेशनमा आफूसँग अध्यक्ष पदमा प्रतिष्प्रर्धा गरेका नेता भिम रावललाई आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा टिकटसम्म नदिएपछि एकातिर भिम रावलको राजनीतिक भविष्यलाई लिएर टिकाटिप्पणी शुरु भएको छ भने अर्कोतिर आखिर भिम रावलको जिल्लाबाट एकल सिफारिस आउदा पनि किन उनलाई टिकट दिइएन भन्ने चर्चा शुरु भएको छ ।
भिम रावल र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध शुरुदेखि नै सुमधुर थिएन । त्यसैमा तत्कालिन नेकपा हुँदा केपी शर्मा ओलीको चर्को आलोचकका रुपमा भिम रावल सवैभन्दा अगाडि थिए । बुँदागत रुपमा रावललाई टिकट नदिनुका कारणहरु हामीले यसरी विश्लेषण गरेका छौं ।
तिक्ततापूर्ण सम्बन्ध
एमाले अध्यक्ष केपी शर्मा ओली र नेता भिम रावलको सम्बन्ध अहिलेदेखि नभई राजनीतिको शुरुवातकालदेखि नै निकै तिक्ततापूर्ण रहँदै आएको थियो । एमालेमा माधव नेपाल महासचिव हुँदा भिम रावलको हालीमुहाली थियो । रावलकै हालीमुहाली पार्टीमा हुँदा र पार्टीमा माधव नेपाल महासचिव हुँदा अहिलेका अध्यक्ष केपी शर्मा ओली पार्टीमा छड्के किनाराका साक्षी जस्ता मात्र थिए । रावलकै सल्लाहमा नेपालले आफूमाथि पूर्वाग्रह राखेको ओलीको बुझाइ थियो । त्यसैमा गत निर्वाचनपछि मोओवादी र एमाले मिलेर नेकपा बनेपछि पनि भिम रावल सवैभन्दा बढी ओलीको विरोध गर्नेमा थिए । सार्वजनिकरुपमा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री हुँदा रावलले ओलीलाई राक्षस भनेर टिप्पणी गरेका थिए । लगत्तै एमालेमा बिभाजन भयो र माधव नेपालले नयाँ दल खोले । तर भिम रावल माधव नेपालसँग नगएर तत्कालीन १० भाइ भनेर चर्चामा आएका नेताहरुको टोली नेताको रुपमा एमालेमै बसे । र, त्यसपछि भएको एमाले महाधिवेसनमा सर्बसम्मत एमाले अध्यक्षमा दोहोरिने र एमालेको नेतृत्वमा आफूबाहेक अरुको बिकल्प नभएको सन्देश प्रवाह गर्ने ओलीको चाहनामा फेरि भिम रावलनै बाधक बने । ओली र उनी निकटका नेताहरुको अथक प्रयासपछि पनि भिम रावलले ओलीसँग चुनावी प्रतिष्प्रर्धा पनि गरे । परिणाम ओलीको पक्षमा आए पनि एमालेमा आफू मात्र नेतृत्व गर्न योग्य रहेको र आफू एमालेमा सर्वशत्तिमान रहेको सन्देश दिने ओलीको चाहना पूरा भएन । त्यसैमा ओली दबदबाकाबीच रावलले प्राप्त गरेको मत सन्तोषजनक थियो । जुन ओलीलाई मन परेको थिएन ।
पार्टीका अधिकांश निर्णमा रावलको फरक मत
एकातिर नेकपा हुँदा अध्यक्ष ओली नेतृत्वको सरकार ढलाउन सक्रिय भूमिका खेलेका भिम रावल एमालेमै बसे पनि पार्टीका हरेक निर्णयमा रावलले फरक मत र व्यवहार गरिरहे । संसदमा चर्चित घटना र महत्वपूर्ण समयमा रावल पार्टीले लिएको मतभन्दा फरक धारणका साथ उभिए । अमेरिकी सहयोग सम्भौता एमसीसी आफ्नौ कार्यकालमा संसदबाट पास गर्ने ओलीको चाहनामा पनि भिम रावलनै सबैभन्दा ठूलो बाधक बनेका थिए । त्यसपछि पनि एमालले संसद अवरोध गर्दा रावल रोष्टममा उभिएर संसदीय छलफलमा भाग लिइरहे । आफू प्रधानमन्त्री हुँदाको अन्तिम समयतिर अध्यक्ष ओलीले नागरिकता अध्यादेश जारी गर्दा पनि रावलले चर्को विरोध गरेका थिए । लगातारको चिसो सम्बन्ध र संसदमा पार्टीको ह्वीपका विरोध रावल बेलाबेला उभिदा पनि अहिलेको अवस्था सृजना भएको हो ।
जिल्लादेखि क्षेत्रीयरुपमा कमजोर पकड
पछिल्ला दिनहरुमा भिम रावलको प्रभाव उनकै गृह जिल्ला अछामदेखि गृह प्रदेश सुदुरपश्चिममा समेत कमजोर हुँदै गएको थियो । अध्यक्ष ओलीको चर्को बिरोधिको छवी बनाएर पनि एमालेमै बसे पनि ओली निकटका नेताहरुले उनलाई वेवास्ता गर्दै आएका थिए । त्यसैमाथि माओवादी पार्टी छाडेर एमालेमा बसेका लेखराज भट्ट र कर्ण थापा भिम रावलविरुद्ध एक भएपछि उनको अवस्था सुदुरपश्चिममा कमजोर बन्दै गएको थियो । नेकपा हुँदा ओलीको चर्को विरोधमा उनलाई साथ दिएका नेताहरु पाटी बिभाजन हुँदा माधव नेपालसँग लागेपछि भिम रावल एमालेमा झन एक्लो र कमजोर बनेका थिए । उनकै जिल्लाका नेतादेखि सुदुरपश्चिममा रावललाई नेता मान्ने अधिकांश नेताहरु अहिले माधव नेपालसँग समाजवादी पार्टीमा छन् । जसका कारण रावल एमालेमा अस्तित्व रक्षाको लडाइ लडिरहेका थिए । केहि दिनअघि मात्र एमाले सुदुरपश्चिमका नेताहरु अध्यक्ष ओली कहाँ पुगेर भिम रावल पार्टीको सम्पर्क नै नरहेको सम्म भनेका थिए ।
जेमा पनि राष्ट्रवाद देख्ने रावल प्रवृति
भिम रावल पछिल्लो समयमा राष्ट्रवादको कार्ड खेलेर लोकप्रिय हुने दाउमा व्यस्त रहे । पार्टीमा विधि पद्धतिको कुरा गरे पनि रावल भने संसदीय ह्वीप समेत नमानेर लोकप्रिय हुने दाउमा राजनीतिमा राष्ट्रवादको कार्ड प्रयोग गरिरहे । एमसीसी, नागरिकता विधेयक जस्ता कैयौं विषयमा रावल एकथरी भीडको पछि लागिरहे । छोटो शंब्दमा भन्दा भिम रावल पछिल्ला समय केपी ओलीभन्दा पनि चर्को स्वरमा राष्ट्रवादको नारा लगाइ रहेका हुन्थे । कतिपयले भन्ने गरेको महेन्द्रकालीन राष्ट्रवाद भिम रावलले बोकिरहेका थिए । हुन त एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि बेला–बेला उस्तै राष्ट्रवादको नारा लगाए पनि रावलले लिएको बाटो ओलीलाई मन परेको थिएन । ओली निकटका नेताहरु रावलका कारण पार्टीलाई हानी मात्र भएको निष्कर्षमा धेरै अघि पुगिसकेका थिए ।
बदलाको भावना
एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र होस् वा बाहिर बदलाको भावना राख्ने नेताको छवी बनाएका नेता हुन् । अछाम १ मा जिल्लाबाट एकल सिफारिस हुँदा पनि उनले टिकट नपाउनु मूल कारण पनि यही हो । नेकपा हुँदा आप्नो चर्को विरोध गर्ने रावलभन्दा ओलीले नेकपापछि माओवादी छोडेर एमालेमा आएका झपट बोहोरालाइ अछाम–१ मा टिकट दिनु एक प्रकारको राजनीतिक बदला हो पनि भन्न सकिन्छ । हुन त रावल यसअघिका अधिकांश निर्वाचनमा चुनाव लडेकै नेता हुन् । पटक–पटक अछाममा चुनाव लडेर मन्त्रीदेखि उपप्रधानमन्त्री हुँदा समेत अछाममा केही गर्न नसकेको, पार्टीभित्र गुटको मात्र प्रतिनिधित्व गरेको तथा पार्टीलाई अप्ठ्यारो परेका बेला सहयोग गर्ने भन्दा आफू लोकप्रिय हुने बाहनामा पार्टीलाई नै अहित हुने काम गरेको भन्दै ओली निकटका नेताहरु रावलसँग असन्तुष्ट थिए । त्यसैको परिणाम रावल अहिले टिकट नै नपाउने अवस्थामा पुगेका हुन् ।
हुन त राजनीतिमा कोही सधै शक्तिशाली हुँदैन तर अहिले जुन अवस्थामा ओलीले भिव रावललाई टिकट समेत नदिने निर्णयमा पुगे त्यसले अछामको चुनावी अंक गणितमा के कति असर गर्छ अहिले नै भन्न सकिन्न । तर भिम रावलको स्वभाव र विगतको राजनीतिलाई नियाल्ने हो भने के उनी चुनाव लड्ने चाहना हुँदै हुँदै आफ्नो टिकट खोसेर झपट बोहोरालाई टिकट दिने निर्णयको पार्टी अध्यक्षको निर्णयलाई शिरोधार्य गरेर बस्लान भन्ने प्रश्न अहम छ । तर रावलका अघि विकल्प भने कम छ । पहिलो विकल्प अझै पनि पार्टीको निर्णयमा पुनः विचार गर्न पहल गराउने हो । अर्को विकल्प पार्टीमा बिद्रोह गर्ने हो जुन रावलका लागि सहज छैन । यसअघिनै पार्टी नछाड्ने भनेर अभिव्यत्ति दिइसकेका रावललाई सहजै पार्टी छोडेर कहाँ जाने भन्ने प्रश्न पनि उत्तिकै छ । त्यसैमा आफ्नो स्वार्थ मिल्दा विगतमा माधव नेपालको समेत साथ छोडेका रावलले बिद्रोह गर्दा कति नेता तथा कार्यकर्र्ताले साथ देलान त्यो यसै भन्न सकिने अवस्था भने छैन ।