काठमाडौं– आफ्नो सुरक्षित सिट त्यागेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लिएर गोरखा पुगेका छन् ।
माओवादी जनयुद्धका दुई शीर्ष नेताबीच ६ वर्षपछि मिलनमात्रै भएन आफ्नो सिट त्यागेर प्रचण्डलाई जिम्मा लगाए ।
भट्टराईले आफूले चुनाव लड्दै आएको निर्वाचन क्षेत्र गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई स्वागत गरेका छन्।
बाबुराम र नारायणकाजी श्रेष्ठसँगै दाहाल गोरखा पुगेको माओवादी नेता सुरेशकाजी श्रेष्ठले बताए ।
प्रचण्डले चितवन २ छाडेर गोरखा रोजेलगत्तै उनले लेखेका थिए, ‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा २ बाट यसपटक क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रत्यासी बन्ने निर्णयको म अन्तरहृदयदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठूलो सांकेतिक महत्वको छ। उहाँको शानदार विजयको हार्दिक शुभकामना ।’
अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येकपटक क्षेत्र फेरेका छन्। काठमाडौं १० बाट दोहोर्याएर लड्दा उनी पराजित भएका थिए। २०६४ मा रोल्पा २ र काठमाडौं १० बाट निर्वाचन जितेका प्रचण्डले २०७० को निर्वाचनमा काठमाडौं १० बाट हारेका थिए भने सिरहा ५ बाट झिनो अन्तरले जितेका थिए।
२०७४ मा चितवन ३ बाट निर्वाचित प्रचण्डले यसपटक गोरखा रोजेसँगै उनी चार चुनावमा चार क्षेत्रबाट निर्वाचन लड्ने नेता हुनेछन्।
गोरखाका माओवादी नेता-कार्यकर्ता र जनप्रतिनिधिले प्रचण्डलाई भेटेर चितवनभन्दा गोरखा धेरै सुरक्षित रहेको र जित्नलाई धेरै मेहनत पनि गर्न नपर्ने हुँदा देशभर समय दिन पाइने तर्क गरेका थिए।