काठमाडौं– चुनाव मुखमा रोचक दृश्यहरु देखिने गरेका छन् ।
प्रमुख विपक्षी दलमा रहँदा तत्कालिन केपी ओली सरकारका मन्त्रीहरुको निगरानी गर्न कांग्रेसले छायाँ सरकार बनाएको थियो । त्यसमा अर्थ मन्त्रालय निगरानीको जिम्मा मिनेन्द्र रिजाललाई दिइएको थियो ।
कांग्रेसको छायाँ सरकार क्रियाशील भएन । तर, चुनावको मुखमा कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफूले नेपाली कांग्रेस संसदीय दलको समन्वय समिति (अर्थ मन्त्रालय)को संयोजकबाट राजीनामा दिएका कारण आफूलाई उम्मेदवार नबनाएको दाबी गरेका छन् ।
राजीनामा गुपचुप थियो । तर, अहिले आएर मिनेन्द्रले पत्र सार्वजनिक गरेका छन् ।
समितिबाट आफूले राजीनामा दिएको र अस्वीकृत भएको दुई पत्र फेसबुकमा पोस्ट गर्दै नेता रिजालले लेखेका छन्, ‘हाम्रो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मलाई प्रतिनिधिसभाको निर्वाचनमा किन उम्मेदवार बनाउनु भएन भनेर खोजी गर्दा उहाँ र मेराबीच २०७७ जेष्ठ र आश्विनका यी दुई पत्र फेला पारे, पोस्ट गरेको छु ।’