चितवन– चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको छ ।
एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ ।
आफूलाई एमाले अध्यक्ष केपी ओलीबाट आर्शिवाद प्राप्त भएको कोइरालाले बताए । उनले भने, ‘म आधिकारिक रुपमा एमालेको समर्थनमा उम्मेदवार बनेँ ।’
चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ ।
चितवन ३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा। भोजराज अधिकारी उम्मेदवार छन् ।
एमालेले कांग्रेसका बागीलाई समर्थन गर्दा कांग्रेसकै अर्का बागी जगन्नाथ पौडेलले भने उम्मेदवारी फिर्ता लिएनन् ।